काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग (एनकेएल) को लागि ‘टाइटल स्पोन्सर’ को रुपमा केबी सामलाई भित्र्याएको छ । फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता अब ‘केबी साम नेपाल कबड्डी लिग’को नामले सञ्चालन हुनेछ ।
नेपाली कबड्डीमा हालसम्मकै सबभन्दा ठूलो प्रतियोगिताको रुपमा केबी साम एनकेएलको पहिलो संस्करण दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ, जहाँ ६ सहरका ६ वटा टिमले राउन्ड रोबिन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म प्रतिस्पर्धा गर्नेछन् । यसै प्रतियोगिताको मुख्य प्रायोजक सम्झौता एक कार्यक्रमबीच बुधबार भयो।
सम्झौतापत्रमा केबी साम एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमितकुमार बेगानी र केबी सामका मार्केटिङ एन्ड सेल्सका प्रमुख रुपेश थापाले हस्ताक्षर गरे । एस्ट्रोनिक्स म्यानेजमेन्टले एनकेएलको लागि केबी साम आल्मुनियम उत्पादक कम्पनीसँग तीन वर्षे सम्झौता गरेको हो ।
सम्झौताअनुसार केबी सामले वार्षिक ७५ लाख रुपिया एनकेएललाई दिनेछ । यो रकम नेपाली खेलकुद इतिहासकै चौथो ठूलो रकम हो । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट, सहिद स्मारक ए डिभिजन लिग र सूर्य नेपाल गल्फ टुरपछिको सबभन्दा ठूलो प्रायोजन हो । वीरगंजमा कारखाना रहेको केबी सामले २५ वर्षयता देशका सबै जिल्लामा आल्मुनियमको व्यवसाय गर्दै आएको छ ।
एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन बेगानीले भने, ‘यो पहिलो वर्ष हो, लगानीको वर्ष हो । नेपालमा २५–३० हजारले कबड्डी खेल्छन् । हामीसँग उच्चस्तरका खेलाडी छन् । यसले नेपालमा कबड्डीको राम्रो संभावना भएको देखाउँछ । यसैका लागि केबी सामले साथ दिएको हो ।’
केबी सामका मार्केटिङएन्ड सेल्सका प्रमुख रुपेश थापाले भने, ‘पूर्वमेचीदेखि पश्चिम महाकलीसम्म केबी साम विस्तारित छ । कबड्डीमा गरिएको लगानीले कम्पनीको प्रवर्द्धनमा पनि साथ दिनेछ । त्यसैले एनकेएलमा स्पोन्सर गर्दा केबी साम र कबड्डी दुवैलाई फाइदा हुन्छ ।’
‘नो योर गेम्स’
केबी साम एनकेएलको पूर्वसन्ध्यामा बुधबार नै नेपाल खेलकुद पत्रकार मञ्चले ‘नो योर गेम्स’ सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा एनकेएलका टेक्निकल डिरेक्टर प्रसाद रावले कबड्डीको प्राविधिक पक्ष, नियम र प्रचलनबारे जानकारी दिएका थिए ।
उनी भारतको प्रो कबड्डी लिग ९केपीएल० का पनि टेक्निकल डिरेक्टर हुन् । त्यस्तै अखिल नेपाल कबड्डी संघका सचिव तर्कराज भट्टले नेपाली कबड्डीको अवस्थाबारे बताएका थिए ।
नेपाली राष्ट्रिय पुरुष टिमका कप्तान घनश्याम रोका मगरसहित एनकेएलका केही खेलाडी प्रो कबड्डी लिगका अनुभवी छन् । उनले यो सिजनको प्रो कबड्डी लिग हरियणा स्टिलर्सबाट खेल्दै दुई साताअघि उपाधि जितेका थिए । एनकेएलमा ६६ स्वदेशी र १८ विदेशी खेलाडी छन् । थाइल्यान्ड र बंगलादेशका ६–६, श्रीलंकाका र केन्याका ३–३ जना छन् । हरेक टिममा स्वदेशी र विदेशी गरी १४ खेलाडी छन् ।
एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स ९बुटवल० र धनगढी वाइल्डक्याट्स सहभागी छन् ।
राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ । उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स भिड्नेछन् ।
Comment