लक्ष्मी बैंकको १००% हकप्रद अाज देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी बैंकको १००% हकप्रद अाज देखि



काठमाडाै ३ बैशाख । लक्ष्मी बैंकको १००% हकप्रद सेयर आइतबार (अाज) देखि बिक्री खुला भएको छ । लक्ष्मीले १ः१ अनुपातमा (एक कित्ता बराबर थप नयाँ एक कित्ता) हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसआधारमा लक्ष्मीले तीन अर्ब १५ करोड ९० लाख ३० हजार ३०० रुपैयाँको तीन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रदको अंकित मूल्य एक सय रुपैयाँ हुनेछ । यो हकप्रद सेयर जेष्ठ ७ गतेसम्म भर्न पाइनेछ । हकप्रद सेयर निष्कासनपछि लक्ष्मीको चुक्ता पुँजी ६ अर्ब ३१ करोड ८० लाख ६० हजार ६०० रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन लक्ष्मीले १०० हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीको हकप्रद सेयरमा चैत १७ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

लक्ष्मी बैंकको हात्तिसार काठमाडौंसहित देशभरका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँ बानेश्वर काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । यो हकप्रदमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन कसरत गरिरहेको लक्ष्मीले यसअघि नै प्रोफेसनल दियालो विकासलाई गाभेर माघ २ गतेबाट एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । लक्ष्मीले प्रोफेसनल दियालोलाई गाभेपछि कायम हुने चुक्ता पुँजीबाट १००% हकप्रद बिक्री गर्न लागेको हो ।

बैंकले गत वर्षको कमाईबाट लगानीकर्तालाई ३८% बोनस सेयर दिने घोषणा गरेको छ । यो हकप्रद भर्नेले पनि बोनस सेयर पाउने भएकाले लगानीकर्ताले पाउने वास्तविक बोनस दर भने १८.२९% मात्र हुन आउँछ । लक्ष्मीको हाल चुक्ता पुँजी तीन अर्ब तीन करोड ९२ लाख २९ हजार रुपैयाँ छ । लक्ष्मीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४० करोड ६३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ  ७४ पैसा र प्रतिसेयर आम्दानी २१९ रुपैयाँ ३३ पैसा छ ।

प्रकाशित : ३ बैशाख २०७४, आईतवार ०५:५१