विकासका लागि पूर्वाधार तयार भइसक्यो, एकजुट भएर काम गरेमा मात्र नेपालको विकास सम्भव : प्रधानमन्त्री ओली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विकासका लागि पूर्वाधार तयार भइसक्यो, एकजुट भएर काम गरेमा मात्र नेपालको विकास सम्भव : प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताउनुभएको छ । गैह्रआवासीय नेपाल सङ्घ (एआरएन) द्वारा आज आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताउनुभएको हो । “नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।”


प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै पक्षबाट धम्की आउन नहुने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले गैह्रआवासीय नेपाली सङ्घको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गर्नुभयो । उहाँले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न आग्रह गर्दै भन्नुभयो, “म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन ।

राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।” आफू सन् १९९९ तिर मा मस्को जाँदा डा उमेन्द्र लामिछानेसँग गैह्रआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट गर्नुभयो ।

प्रकाशित : ११ कार्तिक २०८१, आईतवार ११:३७