बिन्धवासिनी साकोसको ३१औं साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बिन्धवासिनी साकोसको ३१औं साधारण सभा सम्पन्न



काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सात वटा एकाइ र उप एकाइमा साधारण सभा सम्पन्न गरेको हो । संस्थाले कार्तिक ५ गते कर्पोरेट कार्यालय बनेपामा निर्णय प्रमाणिकरण सभा गरी साधारण सभा सम्पन्न गरेको हो ।

‘समृद्ध र सक्रिय सदस्य, विन्धवासिनीको प्रमुख ध्येय’ भन्ने सहकारीको विश्वव्यापी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै, नीति, विधि, प्रविधिको अधिकतम् प्रयोग गरी प्रभावकारी वित्तीय र गैरवित्तीय सेवामार्फत सदस्यहरूको जीवनस्तर माथि उठाउन संस्था लागि परेको संस्थाका अध्यक्ष शान्त कुमार श्रेष्ठले बताए ।

बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाका ऋणीहरूलाई ऋण नतिर्न गरिएको अनधिकृत हल्ला र सहकारी मून्य, मान्यता तथा आदर्शबाट विमुख भएर सञ्चालित केही शहरी सहकारी संस्थाहरूमा देखिएको स्रोतसाधनको अपचलनको गम्भीर समस्याले सिंगो सहकारी अभियानलाई नै असर पारेको उनले भनाई थियो ।

‘सदस्यको पूँजीको सुरक्षा, विन्धवासिनीको अहोरात्र चिन्ता’ भन्ने भावनाका साथ ७ वटा सेवा कार्यालय र ९ वटा सेवा केन्द्रमार्फत सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आइरहेको अध्यक्ष श्रेष्ठले बताए । ‘समृद्ध सदस्य, सुरक्षित र दिगो सहकारी’को परिकल्पना अनुरुप सदस्य सेवामा संस्था लागि परेको उनले बताए । आ.व. २०८०/०८१ सम्ममा कुल सदस्य ५५ हजार ४ सय ९४ र बालबचत कर्ता ११ हजार २३९ समेत गरी कुल सेवाग्राही संख्या ६६ हजार ७ सय ३३ सदस्य पुगेको जानकारी सभामा अध्यक्ष श्रेष्ठले दिए ।

संस्थाले ४ वर्षे रणनीतिक योजना तय गरेको र त्यस अवधिमा कूल सदस्य १ लाख २ हजार सदस्य र १० अर्ब ४७ करोड कुल सम्पत्ति पुर्याउने लक्ष्य लिएको उनको भनाई छ । संस्थाले बहुउदेश्यीय भवन बनाएको र उक्त भवन सदस्यहरुको हित हुने गरी उपयोगमा ल्याइने उनले सभामा जनाए ।

संस्थाका सचिव डोरेन्द्रराज सापकोटाले आ. व. २०८०/८१ को बार्षिक प्रतिवेदन, चालु आर्थिक वर्षको लागि प्रस्तावित कार्यक्रम र छैटौं रणनीतिक व्यवसायिक योजना सभामा प्रस्तुत गरेका थिए । यस आर्थिक वर्षमा लघुवित्त कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, कृषि व्यवसाय प्रवद्र्धन, बजारीकरण, मलखाद, विउविजन र कृषि औजार वितरण गर्ने, स्थानीय सरकारसँग सहकार्य गरेर स्वास्थ्य, सरसफाई, वृक्षारोपण लगायतका सामाजिक कार्य गर्ने र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी सदस्यहरुलाई बचत र ऋण परिचालनका साथै मितव्ययी बन्ने बानीको विकास गर्ने रहेको उनले सभामा जानकारी दिए ।

संस्थाका कोषाध्यक्ष भिम बहादुर खत्रीले आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै वित्तीय क्षेत्रमा प्रतिकूल अवस्था सृजना भएकाले लक्ष्य अनुसारको प्रगति हासिल गर्न नसकेको बताए ।
गत असार मसान्तसम्म शेयर पुँजी ५२ करोड ८० लाख १४ हजार, बचत संकलन ३ अर्ब ६८ करोड ५४ लाख २६ हजार, ऋण लगानी ३ अर्ब ३९ करोड ५० लाख गरी कुल सम्पत्ति ४ अर्ब ८६ करोड ३९ लाख २३ हजार पुगेको छ ।

संस्थाको जगेडा तथा अन्य कोष ४८ करोड ३६ लाख, ऋणी सदस्य १० हजार ६ सय ७१ र कुल सेवाग्राही ६६ हजार ७ सय ३३ पुगेको छ । त्यस अवधिको नाफबाट संस्थाले ८.५ प्रतिशत शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषतर्फ बचत तथा ऋण कारोबारमा आधारमा ०.२० र ०.२५ प्रतिशत रकम प्रदान गर्ने भएको छ । संस्थाले राजश्वतर्फ ३ करोड ६६ लाख ५० हजार रुपैयाँ योगदान गरेको छ ।

लेखा सुपरीवेक्षण समितिका तर्फबाट संयोजक रामकुमार श्रेष्ठले समितिको प्रतिवेदन प्रस्तुत गर्दै नियमित बचत नगर्ने सदस्यहरुलाई सक्रिय बनाइ नियमित बचत गर्न प्रोत्साहन गर्न सुझाए । संस्थाले सदस्यरुहरुलाई सदस्य राहत वितरण, सदस्य सम्मान, शैक्षिक बाल सम्मान जस्ता गतिविधि गर्दै आएको छ ।

प्रकाशित : ६ कार्तिक २०८१, मंगलवार १६:१६