वित्तीय तथा गैरवित्तीय सेवाहरुको प्रभावकारीता समुदायमा सञ्चार गर्ने वीरेन्द्रनगर साकोसको संकल्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

वित्तीय तथा गैरवित्तीय सेवाहरुको प्रभावकारीता समुदायमा सञ्चार गर्ने वीरेन्द्रनगर साकोसको संकल्प



काठमाडाैं । वीरेन्द्रनगर ६, सुर्खेतमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले ‘वीरेन्द्रनगर साकोस कर्मचारी सम्मेलन–२०८१ ’ सम्पन्न गरेको छ । संस्थामा कार्यरत ८० जना कर्मचारीहरुको सहभागितामा कर्मचारी सम्मेलन सम्पन्न गरेको हो ।

कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी सहकारी मूल्य, मान्यता र सिदान्तमा रहेर सदस्यहरुलाई प्रभावकारी र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने उदेश्यका साथ संस्थाले कर्मचारी सम्मेलनको आयोजना गरेको हो । संस्थाका अध्यक्ष बमबहादुर बि.सी. ले संस्थाको वर्तमान साखलाई कायम राख्दै अझ बलियो, भरपर्दो र विश्वासिलो संस्था निर्माणमा कर्मचारीहरुलाई अभिप्रेरित गर्ने उदेश्यले सम्मेलन आयोजना गरिएको बताए । कर्मचारी सम्मेलनले कर्मचारीहरुको ज्ञान, सीप र क्षमतामा अभिवृद्धि भएको र काम गर्ने जोस जाँगर र उत्साहमा वृद्धि भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्र बहादुर थापाले जानकारी दिए ।

कर्मचारी सम्मेलन–२०८१ बाट सहकारीको अन्तराष्ट्रिय सिद्धान्त, मूल्य मान्यता र प्रचलित कानुनको अधिनमा रहेर १० बुँदे संकल्प प्रस्ताव समेत पारित गरेको छ । संस्थाको कार्यक्षेत्र भित्रका जुनसुकै लिङ्ग, वर्ग, समुदाय, जाति, धर्म र भेषभुषाका मानिसहरूको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका लागि विना भेदभाव प्रभावकारी वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्ने र सहकारीको अन्तरराष्ट्रिय सिद्धान्त बमोजिम एक व्यक्ति एक मतको मर्मलाई आत्मसाथ गर्दै सदस्यहरूबाट चुन्ने चुनिने र नियन्त्रण गर्ने प्रजातान्त्रिक परिपाटी र प्रणालीलाई संस्थागत गर्ने प्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्ने संकल्प पत्रमा उल्लेख छ ।

त्यसैगरी संस्थाको आन्तरिक श्रोतलाई मजबुद बनाउनका लागि बचत तथा ऋणका सेवाहरूलाई विविधिकरण गरि सबै सदस्यलाई बचतमा सहभागी हुन प्रेरित गर्ने, आवश्यकता र क्षमताका आधारमा सदस्यको आर्थिक समस्या समाधानमा ऋण लगानी गरी सदस्यको आर्थिक जीवनको सहयोगीको रूपमा कार्य गर्ने,संस्थामा सुशासन र पारदर्शिता कायम गर्नका लागि प्रचलित कानुनको अधिनमा रहि नीति, विधि र प्रविधिको विकास र सोको अक्षरस पालना गर्दै संस्थालाई राजनीतिक तथा धार्मिक रूपमा प्रभावरहित बनाउने र सदस्यबाट नियन्त्रण गर्ने प्रणालीलाई स्थापित गराउने तथा नियमित रूपमा अध्ययनशिल भई ज्ञान आर्जन गर्ने, हरेक काममा सिर्जनशिलता ल्याउने र आफुले सिकेको विषयवस्तुका बारेमा संस्थाको परिवार एवं समुदायमा जानकारी प्रदान गर्दै सहकारी शिक्षा र वित्तीय साक्षरता मार्फत संस्थाका वित्तीय तथा गैरवित्तीय सेवाहरुको प्रभावकारीता समुदायमा सञ्चार गर्ने संकल्प पत्रमा उल्लेख छ ।

स्थानीय संघ, संस्था र बन्धु सहकारीसँग निरन्तर भेटघाट, सम्बन्ध विस्तार र सहकार्य एवं समुदाय केन्द्रित कार्यक्रम मार्फत संस्थालाई समुदायमा पूर्ण रूपमा स्थापित गराउनका लागि जिम्मेवार र जवाफदेहिपूर्वक कार्य सम्पादन गर्ने,समुदायको आर्थिक, सामाजिक र पर्यावरणीय विकासमा सहयोगी भई समाजबाट कुरिति, कुसंस्कार, विसङ्गतीको अन्त्य गर्नका लागि मानिसहरुलाई एकिकृत गर्ने, अभियान चलाउने, जनचेतना फैलाउने, समाजलाई जागृत बनाई स्वच्छ, स्वतन्त्र र समृद्ध समाज निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता पत्रमा जनाइएको छ ।

संस्थाले प्राप्त गरेका उपलब्धी, संस्थाको साख र सदस्यको बचत सुरक्षाको प्रत्याभूति दिलाउँदै दिगो र प्रतिस्पर्धी संस्था निर्माणको परिकल्पना साकार पार्न लागि पर्ने, संस्थाका सदस्य, साधारणसभा र सञ्चालक समितिप्रति उत्तरदायी भई संस्थाको समग्र वृद्धि विकासका लागि हरपल लागि पर्नुका साथै कर्मचारी आचारसंहिताको पूर्ण पालना गर्दै संस्थाको पहिचान र ख्याति वृद्धि गर्नका लागि आवश्यक व्यक्तिगत आचरण र व्यवहारको विकास गर्ने र संस्थाको वर्तमान साखलाई कायम राख्दै थप बलियो, भरपर्दो र विश्वासिलो संस्था निर्माणमा सिर्जनशिल,जिम्मेवार र जवाफदेहि हुने दृढ संकल्प गर्ने भएको छ । दुई दिन चलेको कर्मचारी सम्मेलनमा सहकारी प्रशिक्षक सञ्जयराज तिमिल्सीनाले सहजिकरण गरेका थिए । २४ हजार शेयर सदस्य रहेको संस्थाको करिब १ अर्व ३० करोडको कुल पूँजी तथा दायित्व रहेको छ ।

प्रकाशित : २ कार्तिक २०८१, शुक्रबार १०:१७