काठमाडाैं । नेपाली बजारमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ग्राहक वर्गको सुरक्षालाई ध्यानमा राखेर विभिन्न मोडलका गाडीहरुमा एयरब्याग परिवर्तन गरिदिने भएको छ ।
नेपाली बजारमा बिक्री भएका सन् २००१ देखि २०१४ मोडल सम्मका सिटी, सिभिक, सीआरभी, ज्याज, इन्साइट र अकोर्ड गाडीहरुमा भएका टकाटा एयरब्याग रिकल गरिने भएको हो ।
यी मोडलका गाडीमा भएका एयरब्याग कुनै शुल्क नलिई परिवर्तन गरिदिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले जानकारी दिए ।
धेरै कारहरुमा सुरक्षाका लागि एयरब्याग राखिएको हुन्छ । दुर्घटना भएको अवस्थामा एयरब्याग फुकिएर चालक वा यात्रुलाई सुरक्षा प्रदान गर्ने काम एयरब्यागले गर्छ ।
एयरब्यागको मुटु भनेको इन्फ्लेटर हो, जसमा प्रोपेलेन्ट वेफर्सले भरिएको मेटल क्याट्रिज हुन्छ । यदि एयरब्याग फुटेमा त्यसबाट निस्कने मेटलले चालक तथा सहचालकलाई नराम्रो क्षति गर्न सक्छ । यसका कारण मानिसको ज्यान समेत जान सक्छ ।
अमेरिकाको नेसनल हाइवे ट्राफिक सेफ्टी एड्मिनिस्ट्रेसनका अनुसार २०२४ को जुन ३० सम्म यसका कारण २७ जनाको मृत्यु भइसकेको छ भने ४०० जना घाइते भएका छन् ।
यी सबै तथ्यलाई मनन गरी क्षति न्यूनीकरणका लागि एयरब्याग निर्माता कम्पनी टकाटाले एयरब्याग परिवर्तन गरिदिने गरेको छ । त्यसै अनुसार नेपालमा पनि एयरब्याग परिवर्तन गर्ने अभियान चलाएको श्रेष्ठले बताए ।
नेपालमा चलिरहेका होन्डा कार एयरब्याग रिकल गर्नुपर्ने छ वा छैन भन्ने कुरा थाहा पाउनका लागि होन्डाको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ । त्यसैगरी कम्पनीको धोबिघाटस्थित सर्भिस सेन्टमा सम्पर्क गरेर पनि थाहा पाउन सकिने कम्पनीको भनाइ छ ।
हाल नेपालमा चलिरहेका करिव ७०० होन्डा गाडीहरुमा टकाटा एयरब्याग प्रतिस्थापन गर्नुपर्ने अवस्था छ । यी मध्ये लगभग २०० गाडीहरुमा एयरब्याग परिवर्तन गरिएको छ । बाँकी गाडीहरुमा प्रतिस्थापन कार्य अझै बाँकी छ ।
बाँकी गाडीहरुमा पनि सम्पर्क गरी टकाटा एयरब्याग परिवर्तन गरिने होन्डा कारका अपरेसन म्यानेजर बिदिस पोखरेलले जानकारी दिए ।
Comment