एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम सम्बन्धी सूचना एकै ठाउँमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम सम्बन्धी सूचना एकै ठाउँमा



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्री पोर्टल संचालनमा ल्याएको छ । बैंकको नाममा रहेका गैर बैंकिङ्ग सम्पती तथा धितो सुरक्षणमा रहेका सम्पति लिलाममार्फत बिक्री गर्नलाई यो पोर्टल ल्याइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारे जानकारी प्राप्त हुनेछ ।

जसमा ग्राहकको सहजताका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न सकिनेछ ।

लिलाम विक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।

पोर्टलमा अब नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम विक्रीमा रहेको सम्पत्ति लिलाम विक्री सम्बन्धी सूचनाहरू प्रकाशित हुने बैंकले जनाएको छ ।

लिलाममा राखेको सम्पती खरिद गर्न चाहनेले सिधै पोर्टलमा गएर प्रक्रिया सुरु गर्न सक्ने भएकाले यो पोर्टल धेरै हिसाबले सहयोगी हुने सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन खनियाले बताए ।

प्रकाशित : १४ भाद्र २०८१, शुक्रबार २१:४६