काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् । भारतको नयाँदिल्लीमा बुधबार आयोजित बिमस्टेक बिजनेस समिट २०२४ मा ‘बिम्स्टेकमा व्यापार सहजीकरण प्रवर्द्धन गर्दै इम्प्रुभ्ड क्रस बोर्डर लिंकेज एन्ड ट्रेड इन्फ्रास्ट्रक्चर’ विषयक सत्रमा ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्नुपर्नेमा जोड दिएका हुन् ।
ढकालले सदस्य राष्ट्रहरूलाई व्यापार सहजीकरण प्रवर्द्धन गर्न र सीमापार सम्बन्धको राम्रो विकास गर्न आवश्यक पूर्वाधारको विकास गर्न स्रोतसाधन उपलब्ध गराउन क्षेत्रीय पूर्वाधार कोष आवश्यक रहेको बताए । बिमस्टेक क्षेत्रका सबै सदस्य राष्ट्रको विकास भएपछि अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो आवाज अझ बलियो हुने र अन्तर्राष्ट्रिय बैठकमा थप अधिकारका साथ सामूहिक रूपमा सम्झौता गर्न सक्ने पनि उनको भनाइ छ ।
यही कारण बिमस्टेक सदस्य राष्ट्रहरूबीच थप एकीकृत सञ्जालको विकास गर्न बिमस्टेक पूर्वाधार विकास कोष आवश्यक रहेको उनले दोहोर्याए । नेपालको पूर्व–पश्चिम राजमार्गलाई भारतको मध्य क्षेत्र बंगलादेशसाग जोडेर र कालादान आयोजनामार्फत म्यानमार र भारतलाई पनि जोडेर क्षेत्रीय सञ्जालका लागि उपयोग गर्न सकिने उनले जनाए ।
पूर्व–पश्चिम राजमार्गको समानान्तर रेलमार्ग निर्माण गर्न सकिने र आवतजावतमा सहज हुने उनको भनाइ छ । ‘यस क्षेत्रभित्रको भन्सार प्रक्रियालाई सरल बनाउन सीमावर्ती पूर्वाधार, एकीकृत जाँच चौकीलगायतको विकास गर्नुपर्नेर्छ,’ उनले भने, ‘नेपाल र भुटानजस्ता भूपरिवेष्ठित मुलुकका लागि सुक्खा बन्दरगाहको विकास गर्नुपर्ने र व्यापार लागत कम गर्न र समग्र सञ्जाल बढाउन ती बन्दरगाहको सञ्जाललाई कसरी सुधार गर्नुपर्नेछ ।’
व्यापार सहजीकरण दिगो विकासको मेरुदण्ड भएको र यसबाट लाभ लिन बिमस्टेक राष्ट्रहरूबीचको व्यापार प्रक्रियालाई सरल बनाउनुपर्नेमा ढकालले जोड दिए । व्यापार प्रक्रियामा सुधार गरेर विश्वबजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउन बिमस्टेक क्षेत्रमा महत्त्वपूर्ण पहल भइसके पनि धेरै काम गर्न बाँकी उनले सुनाए ।
सोही कार्यक्रममको ‘सेवा क्षेत्रमा सहयोग सुदृढीकरण’ विषयक सत्रमा महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले कुनै पनि राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदानबारे बताए । पर्यटन, स्वास्थ्य, शिक्षा, सूचना प्रविधिलगायत उद्योगमा बिमस्टेक क्षेत्रका निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
बिमस्टेक क्षेत्रमा महिला उद्यमीहरूबीच सञ्जालको आवश्यकता र महिला उद्यमीहरूको क्षमता अभिवृद्धिको महत्त्वबारे महासंघका पूर्वअध्यक्ष भवानी राणाले प्रस्ट्याइन् । महासंघका कार्यकारी समिति सदस्य तथा लगानी तथा अन्तर्राष्ट्रिय मामिला मञ्चका अध्यक्ष मनोज पौडेलले ब्लू इकोनोमी र माउन्टेन इकोनोमीबीचको सहकार्यको महत्त्वमा जोड दिए । हिमालय र बंगालको खाडीलाई समेटेर बिमस्टेक क्षेत्रका अनुपम भौगोलिक लाभबारे उनले प्रकाश पारे ।
‘ग्लोबल भ्यालु चेनमा एमएसएमईका लागि सिमलेस इकोसिस्टम सिर्जना’ विषयकको सत्रमा बिमस्टेकभित्र एमएसएमई विकास केन्द्र खोल्न आवश्यक रहेको महासंघका महानिर्देशक गोकर्णराज अवस्थीको भनाइ छ । एमएसएमई विकास केन्द्रलाई यस क्षेत्रका एमएसएमईहरूलाई मद्दत गर्न प्रयोग गर्न सकिने उनको भनाइ छ ।
Comment