नेपालको आयात र निर्यात दुवै घट्यो, १० महिनामा ११ खर्ब ७७ अर्बकाे व्यापार घाटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालको आयात र निर्यात दुवै घट्यो, १० महिनामा ११ खर्ब ७७ अर्बकाे व्यापार घाटा



काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा आयात र निर्यात दुवैमा गिरावट आएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको वैशाख महिनासम्म देशको आयात र निर्यात दुवैमा कमी आएको हो ।

विभागले उपलब्ध गराएको तथ्यांक अनुसार १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन गत आवको सोही अवधिका्े तुलनामा आयात २.३९ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यस्तै चालु आवको १० महिनासम्म १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा ३.६१ प्रतिशतले कम हो । गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा व्यापार घाटा २.२६ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ थियो ।

प्रकाशित : ८ जेष्ठ २०८१, मंगलवार १४:५९