ब्याजदरमा मनपरी गर्ने बैंकमाथि कडाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ब्याजदरमा मनपरी गर्ने बैंकमाथि कडाई



काठमाडाै ४ चैत । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिनामा देशको आर्थिक अवस्था सुधारोन्नोमुख रहेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले कृषि, उद्योग तथा सेवा क्षेत्रका गतिविधिमा सुधारका साथै मुद्रास्फितिमा कमी र कर्जा लगानीमा वृद्धि भएकाले आर्थिक अवस्था सकारात्मक देखिएको जनाएको छ । विहीबार देशको आर्थिक परिदृष्य सार्वजनिक गर्दै केन्द्रीय बैंकले सबै क्षेत्रमा सुधारको संकेत गरेको हो । उपलब्ध पछिल्ला तथ्याङ्कहरुलाई आधार मान्दा समीक्षा अवधिमा फलफूल तथा तरकारी बालीको उत्पादन वृद्धि हुने देखिएकाले समग्र कृषिजन्य उत्पादनमा थप सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ । राष्ट्र बैंकका अनुसार उर्जा आपूर्तिमा सुधार आएकोले औद्योगिक उत्पादनमा वृद्धि हुने तथा उद्योगहरुको क्षमता उपयोग समेत बढ्ने अपेक्षा गरिएको छ ।

पर्बतारोहण तथा पदयात्राको मौसम शुरु हुन लाग्दा पर्यटक आगमन संख्यामा वृद्धि हुँदै गइरहेको छ । समीक्षा अवधिमा होटलहरुको औसत अकुपेन्सी दर ४५ प्रतिशतको हाराहारीमा छ । उद्योग विभागले २०७३ माघ मसान्तसम्मको सात महिनाको अवधिमा ८ अर्ब ४१ करोडको संयुक्त वैदेशिक लगानी प्रतिवद्धता भएका १९९ आयोजनालाई स्वीकृति प्रदान गरेको छ । अघिल्लो वर्षको तुलनामा उक्त रकममा २४.३ प्रतिशतले वृद्धि भएको छ । प्रतिवद्धता आएका आयोजनाबाट ५ हजार ७८५ जनाले रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

अवधिमा वैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रतर्फ लगानीमा रहिरहेको कर्जा १५.१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा २०७३ माघमा यस्तो कर्जा ३२.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दर ३.३ प्रतिशत कायम रहेको छ ।
कच्चा तेलको मूल्य वृद्धिका कारण भारतीय मुद्रास्फीतिमा पर्न थालेको चापको प्रभाव आउँदा महिनाहरुमा नेपालको मुद्रास्फीतिमा समेत पर्न सक्ने राष्ट्र बैंकको प्रक्षेपण छ ।

सरकारी वित्त स्थिति सुधारोन्मुख छ । राजस्व परिचालनको वृद्धिको तुलनामा सरकारी खर्चको वृद्धिदरमा सुधार, विदेशी विनिमय सञ्चिती सुविधाजनक अवस्थामा रहेको छ । २०७३ माघ मसान्तमा कुल विदेशी विनिमय सञ्चिती १० खर्ब ७७ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । यस्तो सञ्चिती १२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैबीच नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले बिहीबार ब्याज दर निर्धारण तथा पुनरावलोकन पनि गरेको छ । राष्ट्र बैंकका अनुसार अवदेखि ऋणीले प्रयोग गरिरहेको कर्जाको ब्याज दर कस्तो हुने, गणना विधि, ब्याज गणना गर्दाका आधारलगायतका सम्पूर्ण जानकारी पहिले नै स्पष्ट रुपमा बैंकहरुले जानकारी गराउनु पर्नेछ । बैंकहरुले बार्षिक वा आवधिक ब्याज दर तथा अन्य सबै किसिमका शुल्कहरुका बारेमा ग्राहकलाई जानकारी दिनुपर्छ । बैंकहरुले अवदेखि बर्षमा दुई पटक मात्र ब्याज दर समायोजन गर्न पाउँने केन्द्रीय बैंकले व्यवस्था ल्याएको छ । यद्यपी फ्लोटिङ ब्याज दर अर्थात परिवर्तनशील ब्याज दर भने ऋण दिँदा निर्धारण गरे अनुसार नै परिवर्तन गर्न पाइन्छ।

प्रकाशित : ४ चैत्र २०७३, शुक्रबार ०६:१४