काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गते मंगलबारदेखि चार अर्ब चार करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ। बैकले १० वर्ष अवधिको ‘बार्षिक १० प्रतिशत व्याजदरमा १० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०’ जारी गरेको हो ।
यसले प्रतिइकाई एक हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गरेको छ। यसमध्ये १६ लाख १६ हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २४ लाख २४ हजार इकाई सर्वसाधारणका लागि खुला भएको छ । यसमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
यसका लागि बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ । यस ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने फागुन १५ गतेसम्म खुला रहनेछ ।
यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
Comment