सन नेपाल लाइफ इन्स्योरेन्सकाे नाफा घट्याे, कस्ता छन् अरू सूचक ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सन नेपाल लाइफ इन्स्योरेन्सकाे नाफा घट्याे, कस्ता छन् अरू सूचक ?



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत बर्षको तुलनामा इन्स्योरेन्सको नाफामा गिरावट आएको छ ।

यस अवधिमा कम्पनीले ३२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ७.२२ प्रतिशतले थोरै हो । गत वर्ष यसले ३५ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको जीवन बिमा कोषमा छ अर्ब ५१ लाख रुपैयाँ रहेको छ भने कुल दावी भुक्तानी ५४ करोड ६४ लाख रुपैयाँ रहेको छ । गत वर्ष यस्तो भुक्तानी ३७ करोड ८४ लाख रुपैयाँ थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने ७२.४१ प्रतिशतले बढेर ४३ करोड ५४ लाख रुपैयाँ पुगेको छ । गत बर्ष यसले लगानी तथा कर्जाबाट २५ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी तीन अर्ब २० करोड रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा एक अर्ब सात करोड ५० लाख रुपैयाँ रहेको छ । पुससम्म यसले एक अर्ब ५८ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ०.१३ प्रतिशतले थोरै हो । गत वर्ष यसले एक अर्ब ५८ करोड ८४ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५२ पैसा छ । प्रतिसेयर नेटवर्थ भने १८७ रुपैयाँ ०४ पैसा रहेको छ ।

प्रकाशित : २१ माघ २०८०, आईतवार १०:४१