काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक समृद्धिका लागि जलविद्युत् ठूलो आधार भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को २४औँ वार्षिक उत्सव तथा इप्पान डे २०८० समारोहलाई सम्बोधन गर्दै उनले सोहीअनुसार आर्थिक समृद्धिको यात्रामा सरकारले जलविद्युतलाई पहिलो प्राथमिकतामा राखेको बताए । ऊर्जाबाटै तत्काल आर्थिक समृद्धि सम्भव हुने र सरकारले यसलाई मेरुदण्डको रूपमा लिएको उनको भनाइ छ।
यस्तै ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकार आगामी १२ वर्षमा २८ हजार मेगावाट बढी विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार अघि बढिरहेको बताए । पछिल्लो डेढ वर्षको अवधिमा १ हजार भन्दा बढी मेगावाट विद्युत् उत्पादनको अवस्था सिर्जना भइरहेको उनकाे भनाइ छ।
लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्न सके ऊर्जा क्षेत्रका समस्या समाधान हुने भन्दै मन्त्री बस्नेतले लगानीकर्तालाई थप लगानीका लागि सहज वातावरण बनाउनेतर्फ सरकार अग्रसर रहेको बताए ।
यस्तै कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको समृद्धि ऊर्जा क्षेत्रको विकासले हुने भन्दै अबको १० वर्ष ऊर्जादशक घोषणा गर्न आग्रह गरे ।
यस्तै उनले नीतिगत रूपमा रहेका समस्यालाई तत्काल समाधान गर्नुपर्ने आवस्यकता औंल्याए ।उनले भने, ‘ अहिले हामी १४ मन्त्रालय धाउनुपर्ने बाध्यता छ । नीतिगत झन्झटले समस्या पारेको छ । प्रत्येक नेपालीले लगानी गर्न सक्ने वातावरण बनाउनुपर्छ ।’
ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तिहरु सम्मानीत
ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई इप्पान विशेष सम्मानले सम्मान गरिएको छ । ‘इप्पान डे’को अवसरमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ, उर्जा मन्त्री बस्नेत र इप्पानका अध्यक्ष कार्कीले विभिन्न व्यक्ति तथा संस्थालाई संयुक्त रुपमा सम्मान गरेका हुन् ।
इप्पान विशेष सम्मानबाट सम्मानित हुनेमा उर्जा मन्त्रालयका सहसचिवद्वय नविनराज सिंह र सन्दीप कुमार देव, विद्युत विकास विभागका महानिर्देशक चिरन्जीवी चटौत र नेपाल विद्युत प्राधिकरणका पूर्व उप कार्यकारी निर्देशक प्रवल अधिकारी रहेका छन् ।
त्यस्तै वरिष्ठ ऊर्जा पत्रकारिता सम्मानबाट जलसरोकार डटकमका प्रधान सम्पादक विकास थापालाई सम्मान गरिएको छ ।
त्यस्तै १ मेगावाट भन्दा ठूलो निजी क्षेत्रको पहिलो आयोजनाका रुपमा २०५८ साल माघ १० गते सम्पन्न भएको नेशनल हाईड्रोपावर कम्पनीलाई सम्मान गरिएको छ । कम्पनीले ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । नेशनल हाईड्रोपावरका संस्थापक अध्यक्ष जीत बहादुर श्रेष्ठ र वर्तमान अध्यक्ष कुमार पाण्डेलाई सम्मान गरिएको हो ।
कार्यक्रमममा १ मेगावाट भन्दा सानो पहिलो जलविद्युत आयोजनाका रुपमा १८३ किलोवाटको स्याङ्गे साना जलविद्युत आयोजनालाई सम्मान गरिएको छ ।
निजी क्षेत्रले निर्माण गरेको जलविद्युत आयोजनामा पहिलो पटक लगानी गरेको नबिल बैंक (तत्कालिन नेपाल बंगलादेश बैंक), आयोजना निर्माणमा संग्लग्न पहिलो निर्माण कम्पनीको रुपमा एभरेष्ट निर्माण सेवा कम्पनी, आयोजनाको बीमा गर्ने पहिलो बीमा कम्पनीको रुपमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (साबिकको एनबी इन्स्योरेन्स) लाई पनि सम्मानत गरिएको छ ।
Comment