आइपिओमार्फत् उठेको प्रिमियम रकम जगेडा कोषमा राख्न प्राधिकरणकाे निर्देशन,बाेनस सेयरकाे रुपमा प्रयाेग गर्न पाउने कि नपाउने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आइपिओमार्फत् उठेको प्रिमियम रकम जगेडा कोषमा राख्न प्राधिकरणकाे निर्देशन,बाेनस सेयरकाे रुपमा प्रयाेग गर्न पाउने कि नपाउने ?



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई आइपिओमार्फत् उठेको प्रिमियम रकम तत्काललाई जगेडा कोषमा राख्न निर्देशन दिएको छ। हालै प्रिमियममा आइपिओ जारी गर्ने बीमा कम्पनीहरूलाई प्राधिकरणले पत्र काट्दै प्रिमियमबापत संकलित रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो।

केही समयअघि संसदको सार्वजनिक लेखा समितिले बीमा कम्पनीले बीमा ऐनविपरीत प्रिमियम मूल्यमा आइपिओ जारी गरेको भन्दै त्यसको छानबिन गर्न समेत निर्देशन दिएको थियो।

ऐनविपरीत सेयर जारी गरेको भन्दै हिमालयन रिइन्स्योरेन्सको सम्बन्धमा पनि सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। अदालतबाट कस्तो फैसला आउँछ, त्यही अनुसार प्रिमियम रकम फिर्ता गर्नुपर्ने वा नपर्ने निणर्य हुने भएकोले हाललाई यस्तो रकम जगेडा कोषमा राख्न निर्देशन दिइएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । प्राय: कम्पनीहरूले उठाएको प्रिमियम रकम बोनस सेयर दिन प्रयोग गर्न सकिन्छ। उनले यस्ताे सेयर हाललाइ बाेनस सेयर प्रयाेजनार्थ प्रयाेग गर्न भने नपाउने पनि जानकारी दिए ।

हाल हिमालयन रि ईन्स्योरेन्ससहित ५ बीमा कम्पनीले प्रिमियममा आइपीओ जारी गरेका छन् । जसमध्ये आइएमई लाइफ, सिटिजन्स लाइफ, सन लाइफ नेपाल र रिलायबल नेपाल लाइफ रहेका छन् । यी सबै कम्पनीलाई प्राधिकरणले प्रिमियम वापत उठेको रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो ।

बीमा कम्पनीहरूले पनि प्रिमियमको रकमबाट बोनस वितरण गरेर आफ्नो चुक्तापुँजी वृद्धि गर्ने योजना बनाएका थिए। प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्तापुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरेको छ।

प्रकाशित : १९ पुष २०८०, बिहीबार ११:३८