तीन कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, बिहीबारदेखि काराेबारमा आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तीन कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, बिहीबारदेखि काराेबारमा आउने



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार नेपाल वेयरहाउजिङ्ग कम्पनी, चिर्ख्वा हाइड्रोपावर र भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ सूचीकृत भएको हो ।

यससँगै यी तीन वटै कम्पनीको सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । जसमध्ये नेपाल वेयरहाउजिङ्ग कम्पनीको ६८ लाख ७५ हजार कित्ता साधारण सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि न्यूनतम ९३.०४ रुपैयाँ र अधिकतम २७९.१२ रुपैयाँ ओपनिङ्ग रेञ्ज दिएको छ । उक्त रेञ्जको आधारमा कम्पनीको सेयर बिहीबारदेखि कारोबारमा आउने छ । कम्पनीको नेप्से सिम्बोल भने ‘एनडब्लुसीएल’ रहेको छ ।

त्यस्तै, नेप्से सिम्बोल ‘सीकेएचएल’ रहेको चिर्ख्वा हाइड्रोपावरको ४० लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि न्यूनतम १००.०१ र अधिकतम ३००.३ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको छ । यससँगै बिहीबार कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ ।

त्यसैगरी, भिजन लुम्बिनी उर्जा कम्पनीको एक करोड ९१ लाख २५ हजार कित्ता आईपीओ दोश्रो बजारमा सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम १२१.७८ र अधिकतम ३६५.३४ रुपैयाँ तोकिदिएको छ । यससँगै कम्पनीले नेप्से सिम्बोल ‘भीएलयूसीएल’को नामबाट बिहीबारदेखि सेयर किनबेच गर्ने छ ।

यी तीन वटै कम्पनीले हालै सर्वसाधारणमा आईपीओ जारी गरेका हुन् । बुधबार सूचीकृत भएको कम्पनीको सेयर बिहीबार अर्थात पुस ५ गतेदेखि कारोबारमा आउने छ ।

प्रकाशित : ४ पुष २०८०, बुधबार १४:५५