गत बर्ष प्रशस्त लाभांश दिएका तीन कम्पनीले बनाए सेयरधनीको हातखाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

गत बर्ष प्रशस्त लाभांश दिएका तीन कम्पनीले बनाए सेयरधनीको हातखाली



काठमाडौं । गत बर्षकाे नाफाबाट तीन कम्पनीले सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेका छन् । कम्पनीको सञ्चालक समितिको बैंठकले निर्णय गरेअनुसार गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, लक्ष्मी लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले कुनैपनि लाभांश नदिने घोषणा गरेका हुन् ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सोमबार बसेको सञ्चालक समिति बैंठकले लाभांश नदिने निर्णय गरेको छ । आर्थिक वर्ष २०७८/७९ को नाफाबाट यसले ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

लक्ष्मी लघुवित्तले पनि गत वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । लक्ष्मीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

सबैको लघुवित्त वित्तीय संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : २ पुष २०८०, सोमबार १२:१२