उद्योग प्रतिष्ठानका प्राविधिकको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उद्योग प्रतिष्ठानका प्राविधिकको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना



काठमाडौं । उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा यस क्षेत्रका उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरुका लागि १२ दिने उर्जा दक्षता अभिवृद्धि तालिम प्रारम्भ भएको छ ।

तालिमको प्रारम्भ गर्दै संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग प्रतिष्ठानको उत्पादकत्व र वस्तुको गुणस्तर प्राविधिकहरुमा निर्भर रहने भएकाले उर्जा दक्षता तालिमको आयोजना गरिएको बताए । उनले उद्योगहरुले प्राप्त उर्जाको व्यवस्थापन गरी त्यसबाट बढी भन्दा बढी लाभ लिनसके उद्योगको उत्पादन खर्च कटौतिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उद्योगहरुको लागि आवश्यक दक्ष प्राविधिकको विकासलाई मध्यनजर गरी यसप्रकारको तालिम आयोजनालाई भविष्यमा पनि निरन्तरता दिने अध्यक्ष सुरानाले बताए ।

इन्स्योर परियोजनाका कोशी प्रदेश प्रमुख संजव कुमार राईले परियोजनाले आगामी दिनमा उद्योग प्रतिष्ठानका आवश्यकता अनुरुप नया क्षेत्र पहिचान गरी सोही आधारमा पाठयक्रम विकास गरी थप तालिम संचालन गरिने जानकारी दिए । दक्ष जनशक्तिले उद्योगको उत्पादकत्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस प्रकारको तालिम आवश्यक रहेको औंल्याए ।

तालिमका प्रशिक्षक संजय कुमार साहले तालिम अवधिमा प्राविधिकहरुलाई उर्जा खपत न्यूनिकरणका उपायहरु, खेर गइरहेको उर्जा नियन्त्रण तथा मेशिनको प्रयोग र संचालन विधि, प्राप्त उर्जाको समूचित उपयोग एवं व्यवस्थापन, उर्जा दक्षता पद्धती र महत्वका विषयमा सिकाइने बताए ।

१२ दिनसम्म संचालन हुने तालिममा यस क्षेत्रका उद्योग प्रतिष्ठानका २० जना प्राविधिकहरुको सहभागिता रहेको छ ।

प्रकाशित : २७ मंसिर २०८०, बुधबार १६:२३