एनआरएनएले दस करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

एनआरएनएले दस करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माले आउँदो दुइ वर्ष भित्र रु दस करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरेका छन । उनले आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँप्रदान गर्ने घोषणा पनि गरेका छन ।

शुक्रबार राती जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पबाट पीडित नेपालीहरुलाई तत्काल सहयोग गर्ने उद्देश्यले आयोजित पहिलो बैठकमै झन्डै एक करोड रुपियाँ बराबरको सहयोग जम्मा भएको छ।

जूम माध्यमद्वारा आयोजित बैठकमा बोल्दै अध्यक्ष शर्माले नेपालमा भूकम्प, बाढी, पहिरो तथा कोभिड महामारीको बेलामा संसार भरिका नेपालीहरुले दिल खोलेर सहयोग गरेको स्मरण गरे। उनले तीनै तहका सरकारसंग समन्वय गरी पछिल्लो भूकम्पबाट पीडित नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सक्दो सहयोग गर्न आफुहरुले काम गर्ने बताए।

उक्त कोषका लागि महासचिव बुद्धि सागर सुवेदी ले रु १९ लाख, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले रु १७ लाख, पूर्व अध्यक्ष कुल आचार्यले रु ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपानेले ५ लाख , युवा उपाध्यक्ष अब्दुल बाशिद ५ लाख तथा सचिव लोक दाहालले ५ लाख रुपैयाँ, उपाध्यक्ष गोविन्द श्रेष्ठ ‘रोविन्द’ ले ३ लाख, सचिव कृष्णजीवि पन्तले रु २ लाख १११ सहयोग प्रदान गर्ने घोषणा गरेका छन । त्यस्तै उपाध्यक्ष डा केशव पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव दयानिधि सापकोटाले जनही एक लाख रुपैयाँ प्रदान गर्ने जनाए।

एनआरएनए आइसीसीका कोषाध्यक्ष ठाकुर ढुंगानाले आइतबार सम्ममा उद्दार कोषको नयाँ बैंक खाता खोली सबै साथीहरुलाई जानकारी गराउने बताए।

कार्यक्रमको संचालन गरिरहेका महासचिव बुद्धिसागर सुवेदीले सबै सहयोगदाताहरुलाई धन्यवाद दिंदै नेपालीलाई विपद परेको बेला मन खोलेर सहयोग गर्न अपिल गरेका थिए । भूकम्प पीडितहरुका लागि संसारभरिका एनआरएनहरुबाट अहिले सहयोग आउने क्रम जारी छ । अध्यक्ष शर्मा,महासचिव सुवेदी र कोषाध्यक्ष ढुङ्गानाले बिश्वमा रहेका सबै एनआरएनए अभियन्ता र सदस्यहरुलाई देशमा समस्या परेको बेलामा सहयोग गर्न अनुरोध गरेका छन ।

प्रकाशित : १९ कार्तिक २०८०, आइतबार १०:०७ 5 November, 2023 10:07 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।