४९ स्थानमा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा, कुन सामानमा कति छुट ? (सूचीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

४९ स्थानमा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा, कुन सामानमा कति छुट ? (सूचीसहित)



काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं लगायत नेपालीहरूका महत्वपूर्ण चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्‍चालनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ४३ जिल्लामा सरकारका तीन संस्थानले सञ्चालन गरेको सहुलियत मूल्य पसल काठमाडौंबाट उद्‌घाटन गरेका हुन्‌ ।

उद्‌घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले बजारमा बेला/बेला अस्वस्थ प्रतिस्पर्धादेखि अस्वभाविक मूल्य वृद्धि हुने गरेकाले त्यसलाई नियन्त्रण गर्न सरकार लागिपरेको दाबी गरे । सरकारले निरन्तर बजार अनुगमनमा ध्यान दिएको बताउँदै उनले उपभोक्ताको हित विपरीत काम गर्ने जो कोहीमाथि कारबाही गरिने जिकिर गरे ।

बजारमा हुन सक्ने अवाञ्छित मूल्यलाइ नियन्त्रण गर्न यो पसलले सहयोग गर्ने मन्त्री रिजालको भनाइ छ । निजी क्षेत्रले समेत यो सरकारको प्रयासलाइ सहयोग गर्नुपर्ने उनले बताए ।

मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जनताका आवश्यकतामा केन्द्रित भएर बजारको अनियन्त्रित मूल्यबाट उपभोक्त ठगिनबाट जोगाउन सहुलियत मूल्य पसल सञ्‍चालनजस्ता कार्य गर्दै आएको बताए । उनले दुर्गमका उपभोक्तालाई समेत सहुलियत दिनलाइ सेवा विस्तार गरिएको दाबी गरे । यस्ता पसलहरू चाडपर्वमा मात्रै नभएर अन्य समयामा पनि संचालन गर्नु पर्ने उनले आग्रह गरे ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले विभिन्न सामानहरूमा छुट रहेको जानकारी दिएका छन्‌ । ‘राज्यले आफ्नो जनतालाइ सहुलियत दिनुपर्छ भनेर नै हामीले निरन्तर १० वर्षदेखि सहुलियत पसल सन्चालन गर्दै आएका छौं,’ उनले भने, ‘हामीले अनलाइन डेलिभरिदेखी घुम्ती पसल समेत संचालन गर्ने तयारीमा रहेका छौं ।’

चन्दका अनुसार अनुसार सुपथ मूल्य पसल उद्‌घाटनसँगै ४३ जिल्लामा एकै साथ एकै समयमा उदघाटन गरी सुपथमूल्यका पसलहरू संचालनमा ल्याइएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट देशका ४९ आउटलेट, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका ३५ स्थानबाट र दूग्ध विकास संस्थानमा समेत सुपथ मूल्य पसल संचालनमा ल्याइएको हो । आवश्यक परे थप स्थानमा समेत विस्तार गरिने उनको भनाइ छ ।

काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकका बिक्री काउन्टरबाट बिक्री वितरण गर्नेछ । साल्ट ट्रेडिङ कर्पोरेशनबाट कालिमाटी, सतुङगल, जडिबुटी र कोटेश्वर सहित ८ वटा पसल ३ वटा घुम्तिसेवाको माध्यमबाट बिक्रीवितरण गर्ने भएको छ । जनतालाई थप सुविधा दिन अनलाइन सेवाबाट समेत खाद्य वस्तुमा छुट दिई निःशुल्क होम डेलिभरीको व्यवस्था मिलाइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो वेबसाइड https://nepalfoods.gov.np/ र अनलाइन पोर्टल https://www.sastodeal.com/ र अनलाइनमार्फत निःशुल्क होमडेलिभरी गर्ने जनाएको हो । कम्पनीका अनुसार नागरिकलाई थप सुविधा प्रदान गर्न घुम्ती सेवा, अनकल साथै डिलर र सहकारीहरूमार्फत नैकाप, सतुङल, नारायणथान, भक्तपुरमा र बानेश्वरको फेमेली मार्टबाट छुट सुविधाका सामान बिक्री वितरण गरिनेछ ।

आगामी दशैंमा काठमाडौं उपत्यकामा मासुको मूल्य वृद्धि हुन नदिन मकवानपुर, दाङ र धादिङ जिल्लाका किसानहरूबाट दुई हजार गोटा खसिबोका र रसुवा क्षेत्रबाट एक हजार गोटा च्याङग्रा खरिद गरी ल्याउने तयारी पूरा भैसकेको छ। ती पशुबस्तु घटस्थापनासम्म काठमाडौँमा ल्याइने कम्पनीले जनाएको छ । घटस्थापनाको भोलिपल्टदेखि उचित मूल्यमा बिक्री वितरण शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

सहुलियत मूल्य पसलमा चामल, दाल, चिउरा, आटा, पिठोमा प्रति किलोग्राम ७, खाने तेलहरूमा प्रतिलिटर ७, कर्णालीको सिमी र गेडागुडी दानामा प्रति किलोग्राम १० र जिउँदो खसि, बोका, च्याङग्रामा प्रति किलोग्राम १०१ छुट दिई बिक्री गर्ने व्यवस्था मिलाइएको छ ।

दुर्गम जिल्लाहरूमा खाद्यान्न अभाव हुन नदिन पर्याप्त खाद्यान्न आपूर्ति व्यवस्था मिलाइएको कम्पनीले दाबी गरेको छ । कम्पनीले सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मंसिर ३ गतेसम्म संचालन गर्ने जनाएको छ ।

प्रकाशित : २१ आश्विन २०८०, आईतवार २२:०८