ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँज, स्थानीय उत्साहित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँज, स्थानीय उत्साहित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

ताप्लेजुङ । पछिल्लो समयमा ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँज पुग्न थालेको छ । गाउँगाउँमा नयाँ फोरजी टावर जडान गर्नुका साथै पुराना टावरलाई फोरजीमा स्तरोन्नति गरिएपछि ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँच विस्तार भएको हो ।

केही समय अगाडि मोबाइल सेवासमेत नभएका बस्तीमा फोरजी सेवा सञ्चालन भएपछि स्थानीय उत्साहित भएका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मुरिङला डाँडामा बिहीबारदेखि फोरजी सेवा सुरु भएसँगै आफ्नै घरबाट इन्टरनेट प्रयोग गर्न पाएको स्थानीय रोशन लिम्बूले बताए ।

गत भदौको पहिलो साता फक्ताङलुङको लोवा डाँडामा नेपाल टेलिकमले फोरजी टावरमार्फत सेवा सुरु गरेको थियो । उक्त टावरले फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चार क्षेत्रमा फड्को मारेको छ । फोरजी सेवा सञ्चालनमा आएसँगै लेलेपको साँगु, बतासे, मादिबुङ, फेम्बु, लेलेप, लुङथुङ, सेकाथुम लावाजिन, किसोङ्मा, अम्जीलेसा र तापेथोकको हेल्लोक, यासाङ, सोत्लिमा, तापेथोक र इखाबुको केही क्षेत्रमा इन्टरनेटको सुविधा पुगेको दूरसञ्चार कार्यालय ताप्लेजुङले जनाएको छ ।

फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बूका अनुसार यस सेवामार्फत फक्ताङलुङ गाउँपालिकाका नागरिक प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । यसबाट स्थानीय समुदाय मात्रै नभएर कञ्च्नजङ्घा क्षेत्रमा आउने हजारौँ पर्यटकलाई पनि सेवा पुग्ने र विभिन्न सरकारी तथा गैरसरकारी निकायले दिने सेवामा पनि सहजता थपिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले जानकारी दिए।

विसं २०७४ मा पालिकाको लेलेपस्थित मुरिङ्ला डाँडामा टेलिकमको टुजी सेवा विस्तार भएपछि मात्रै यस क्षेत्रमा मोबाइल सेवा विस्तार भएको थियो । टुजी सेवा प्रभावकारी नभएको गुनासो बारम्बार आएपछि फोरजी सेवा विस्तार गरिएको टेलिकम कार्यालयले जनाएको छ ।

गाउँपालिकाको तल्लो भेग वडा नं १, २, ३, ४, सावादिन, खेजेनिम, लिङ्खिम र इखाबुका अधिकांश भेगमा यसअघि नै फोरजी सेवा विस्तार भइसकेको अध्यक्ष लिम्बूले बताए। सेवा विस्तारका लागि आवश्यक सामग्री ढुवानीदेखि यसको जडानका लागि सम्बन्धित निकायमा पहलकदमी पालिकाले गरेको उनको भनाइ थियो ।

अध्यक्ष लिम्बूका अनुसार अब सोही पालिकाको वडा नं ७ को हिलेखर्कमा फोरजी टावर राख्नका लागि सर्भेको काम सकिएको छ भने घुन्सातर्फ पनि टावर राख्नका लागि पहिलो चरणको सर्वे सकिएको छ । फक्ताङलुङ गाउँपालिकाको सबै क्षेत्रमा अबको एक वर्षभित्रमा फोरजी सेवा विस्तार हुने उनले बताए ।

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार १६:०१ 6 October, 2023 4:01 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।