काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । आज बजार ५.१९ अंक बढेर १९७६.२९ विन्दुमा पुगेको हो। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक बढेको छ।
नेप्से बढेपनि आज कारोबार रकम भने सामान्य घटेको छ। आज २८६ कम्पनीको ५७ लाख ७६ हजार कित्ता सेयर किनबेच हुदाँ एक अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १३ उपसमूहमध्ये अधिकांश उपसमूहको परिसूचक बढेको छ । आज बैंकिङ उपसमूहको परिसूचक ०.२१, विकास बैंक उपसमूहको परिसूचक ५०.१०, वित्त १२.९६, जीवन बिमा १०.३३, निर्जीबन बिमा १५.३०, माइक्रोफाइनान्स १८.४९, जलविद्युत १८.७९ अंकले बढेको छ। त्यसैगरी आज होटल तथा पर्यटन ४९.२८,उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.७३ अंकले घटेको छ।
आज सिवाईसी लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबारमा आएको पिपुल्स हाइड्रोपावर र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको सेयरमूल्य भने घटेको छ। कारोबार रकमका आधारमा सोमबार एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। बैंकको २१ करोड ६८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।





Comment