कुमारीले पुनः २० प्रतिशत हकप्रद शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कुमारीले पुनः २० प्रतिशत हकप्रद शेयर दिने



काठमाडौं, १३  फागुन । कुमारी बैंक ले लगानीकर्तालाई पुनः २० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव अघि सारेको छ । राष्ट्र बैंकले ताकेको चुक्ता पूँजी पुर्याउनका लागि बैंकले सबै प्रकृया पुरा गरेर फेरी २० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

बैंकको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले २१ प्रतिशत बोनस शेयर, ५० प्रतिशत हकप्रद शेयर तथा चार वित्तीय संस्थासँगको एक्विजशन पुरा गरी कायम हुने पूँजीको २० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । त्यसका साथै बैठकले साधारण सभाको मिति तय गर्दै आगामि चैत ९ गते साधारण सभा बोलाउने निर्णय समेत गरेको छ ।

केही दिन अघि मात्र नेपाल धितोपत्र बोर्डले ५० प्रतिशत हकप्रद निष्काशनको स्वीकृति दिएको बैंकले हकप्रद निष्काशन तथा साधारण सभाका लागि एकै पटक बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकको फागुन २० गतेदेखि चैत ९ गतेसम्म बुक क्लोज हुनेछ । बैंकको ५० प्रतिशत हकप्रद तथा २१ प्रतिशत बोनस सुरक्षित गर्नका लागि लगानीकर्ताले फागुन १९ गतेसम्ममा शेयर खरिद गरिसक्नु पर्ने छ ।

हाल बैंकको २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । ५० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको पूँजी ४ अर्ब ४ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस सेयर बितरणको प्रस्ताव पनि गरिसकेको छ । बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी तीन अर्ब २६ करोड ५९ लाख रुपैयाँ पुग्ने छ । हकप्रद शेयर निष्काशन पछि बैंकको चुक्ता पूँजी चार अर्ब ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ पुग्नेछ ।

बैंकले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ नाघ्नेछ ।

उक्त चुक्ता पूँजीको २० प्रतिशत हकप्रद निष्काशन गरे पछि बैंकको चुक्ता पूँजी ८ अर्बको नजिक पुग्नेछ । चालु आर्थिक वर्षको कमाईबाट बोनस बितरण गरेर बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनेछ ।

प्रकाशित : १३ फाल्गुन २०७३, शुक्रबार ०५:५७