विश्व बैंकद्वारा नेपालको कृषि क्षेत्र विकासका लागि २ अर्ब ५८ करोड सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विश्व बैंकद्वारा नेपालको कृषि क्षेत्र विकासका लागि २ अर्ब ५८ करोड सहयोग



काठमाडौं । विश्व बैंकले नेपालको कृषि तथा खाद्य सुरक्षा क्षेत्रका लागि २ अर्ब ५८ करोड नेपाली रुपैयाँ (२ करोड अमेरिकी डलर)को अनुदान सहयोग स्वीकृत गरेको छ । विश्व बैंकले नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजना (फ्यान्सेप)–२ का लागि यो अनुदान सहयोग स्वीकृत गरेको हो ।

यो परियोजना अन्तर्गतबाट विभिन्न १६ गाउँपालिकामा रहेका ५५ हजार किसानहरुलाई कृषि उत्पादन र पोषण अभिवृद्धिको क्षेत्रमा सहयोग गर्ने लक्ष्य लिइएको छ । वातावरणसँग सम्बन्धित रहेर आधुनिक रुपमा कृषि तथा पोषणका कार्यक्रमलाई बढाउने लक्ष्य परियोजनाको रहेको छ ।

मालदिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक रहेका फारिस हदाद जेर्भोसले भने, ‘दिगो विकासका लक्ष्य र शुन्य भोकमरीको चुनौती पूरा गर्न प्रतिबद्धताका रुपमा खाद्य तथा पोषण सुरक्षा हासिल गर्नु र गरिबी न्यूनीकरण गर्नु नेपाल सरकारको राष्ट्रिय लक्ष्य हो । यो परियोजनाले उत्पादकत्व, जीविकोपार्जन र सीमान्तकृत समुदायको पोषण सुरक्षा सुधार गर्न नेपाल सरकारको प्रयासलाई समर्थन गर्छ ।’

परियोजनाको दोस्रो चरणमा तीन मुख्य पक्षहरु रहेका छन् । वातावरण र पोषणमा आधारित रहेको स्मार्ट प्रविधिको अनुशरण र वितरण, आम्दानीको सिर्जना र विविधिकरण र खाद्य सुरक्षाको वृद्धिजस्ता पक्षहरुलाई लिएर परियोजनाको दोस्रो चरणमा काम हुनेछ । परियोजनाले सन् २०२४ को जुन ३० सम्ममा आफ्नो उद्देश्यलाई लिएर सफलता प्राप्त गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित : ५ आश्विन २०८०, शुक्रबार १७:३१