झापा । राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बा सम्मानित भएकी छिन् । मेची बहुउद्देश्यीय सहकारी संस्था लि .दमक झापा को २९ औ साधारणसभा मा संस्थापक अध्यक्ष गणेश बस्नेत पुरस्कार बाट सम्मानित भएकी हुन ।
मेची बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो २७ औं बार्षिकोत्सव तथा २९ औं साधारणसभाको अवसरमा मंगलबार महाप्रबन्धक सुब्बालाई ३४ हजार ६ सय ६६ रुपैयाँ राशी रहेको सो पुरस्कारबाट पुरस्कृत गरेको हो । पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडाले सुब्बालाई सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए ।
नेपालको सहकारी अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र सहकारी अभियन्ताहरुलाई सहकारी क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले सहकारीमा २५ बर्ष भोगाई र अनुभुति नामक पुस्तक तथा सहकारी सम्बन्धी विभिन्न लेख, रचनासमेत प्रकाशन गरी सहकारी क्षेत्रलाई अभिभावकत्व प्रदान गरेकाले संस्थाले सुब्बालाई सम्मान गरेको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए ।
पाँचथर जिल्ला याङनामकी सुब्बा २०५३ सालमा राष्ट्रिय सहकारी महासंघमा लेखापालको रुपमा प्रवेश गरेसँगै सहकारी अभियानमा जोडिएकी हुन् । त्यसपछि उनी निरन्तर रुपमा सहकारी अभियानमा सक्रिय रहेकी छन् । उनी जापान, सिंगापुर, थाइल्यान्ड, बेलायत, जर्मनी, अमेरिका, इटाली, ब्राजिल, बेल्जियम, फ्रान्सलगायत १९ वटा मुलुकहरुमा आयोजना भएका सहकारीसम्बन्धी तालिम तथा गोष्ठीहरुमा सहभागी भएकी छन् ।
Comment