इजाजत नलिई बीमा शब्द प्रयोग नगर्न नेपाल बीमा प्राधिकरणको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

इजाजत नलिई बीमा शब्द प्रयोग नगर्न नेपाल बीमा प्राधिकरणको आग्रह



काठमाडौं । नेपाल बीमा प्राधिकरणले इजाजत नलिई बीमा प्रवृत्तिका व्यवसाय नगर्न र नगराउन आग्रह गरेको छ। प्राधिकरणले एक सुचना जारी गर्दै बीमा ऐन २०७९ बमोजिम इजाजत नलिइ बीमा प्रकृतिका व्यवसाय संचालन गर्न नहुने भन्दै बीमक बाहेकका संगठिक संस्थाहरुलाई उक्त कार्य नगर्न आग्रह गरेको हो ।

बीमा कम्पनीहरु बाहेकका संगठिक संस्थाहरुले बीमासँग सम्बन्धीत कारोबार गरेको देखिएको हुँदा यस्तो कार्य गर्नेहरुलाई बीमा ऐन अनुसार बीमा कसूर मानिने र दण्ड जरिवाना समेत हुने भएकाले यस्तो कार्य नगर्न आग्रह गरेको छ।

बीमा ऐन विपरित हुनेगरी कसैले पनि बीमा व्यवसाय सम्बन्धीत कारोबार व्यवसाय, व्यापार वा उद्योग गर्ने वा अन्य कुनै पनि प्रयोजनका लागि आफ्नो कम्पनी, कर्म वा संस्थाको नाममा बीमा, पुनर्बीमा, बीमा कोष जस्ता शब्दहरु प्रयोग नगर्न प्राधिकरणले आग्रह गरेको छ ।

बीमा ऐन २०७९ को दफा २४ अनुसार यस प्राधिकरणबाट इजाजत पत्र नलिई कसैले पनि पुनबीमा, बीमा कोष जस्ता जुनसुकै शब्द प्रयोग गरी वा नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बीमा व्यवसाय सम्बन्धी कुनै पनि कारोबार,व्यवसाय, उद्योग वा व्यापार गर्न वा गराउन हुँदैन भन्ने उल्लेख छ। साथै दफा १५३ अन्सार बीमक बाहेक अन्य कसैसँग बीमा व्यवसाय सम्बन्धी कारोबार गर्न नहुने भनिएको छ। सोही दफाको हवाला दिँदै प्राधिकरणले सूचनामा त्यस्तो नगर्न नगराउन भनेको छ।

प्राधिकरणले ऐनको उक्त व्यवस्थाको उलङ्घन हुने गरी कार्य भइरहेको भन्दै त्यो नगर्न सूचनामा भनेको छ। त्यस्तो गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने भन्दै सजग गराएको छ। त्यसैगरि प्राधिकरणले इजाजत नदिएका पर्म कम्पनी लगायत सङ्ग कुनै पनि कारोबार नगर्न पनि सर्वसाधारणलाई सचेत गराएको छ । त्यसैगरि कुनै पनि फर्म कम्पनीलाई बिमा भन्ने शब्द लेख्न पनि प्रतिबन्ध लगाएको छ।

प्रकाशित : ५ भाद्र २०८०, मंगलवार ११:४९