नवनिर्वाचित सिएनआई पदाधिकारी–राप्रपा अध्यक्ष छलफल, ‘निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र बलियो नहुने’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नवनिर्वाचित सिएनआई पदाधिकारी–राप्रपा अध्यक्ष छलफल, ‘निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र बलियो नहुने’



काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच अर्थतन्त्रका विषयमा छलफल भएको छ । नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले राप्रपा संसदीय कार्यालयमा छलफल गरेको हो ।

परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले सबै राजनीतिक दलहरुले अर्थतन्त्रलाई पहिलो प्राथमकितामा राख्नुपर्ने बताए । निजी क्षेत्रको मनोबल घटेको, अर्थतन्त्र मन्दीमा रहेकाले सबै दलहरुले आर्थिक विषयलाई प्राथमिकतामा राख्दै बजेटको प्रभावकारी कार्यान्वयन गराउनुपर्नेमा उनले जोड दिए । भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत आयोजनाको पीपीए खुला गरी निर्माणको वातावरण बनाउनुपर्ने उनले बताए ।

अध्यक्ष अग्रवालले भूतप्रभावि हुने गरी कर लगाउँदा लगानीकर्ताहरु हतोत्साही हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताए । सो अवसरमा पूर्व उर्जा मन्त्री समेत रहेका राप्रपा अध्यक्ष लिङ्देनले निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र बलियो नहुने बताए । उनले जलविद्युत आयोजनाको पीपीए रोक्नुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै सबै जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने बताए । उनले पीपीए खुला गर्न सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सो अवसरमा उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा सहभागी थिए ।

प्रकाशित : १९ असार २०८०, मंगलवार १६:४६