३० दिनभित्र सबै विवरण बुझाउन सहकारीलाई काठमाडौं महानगरको निर्देशन, नबुझाए कारवाही गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

३० दिनभित्र सबै विवरण बुझाउन सहकारीलाई काठमाडौं महानगरको निर्देशन, नबुझाए कारवाही गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० दिनभित्र सहकारी संस्थाहरुलाई विवरण बुझाउन निर्देशन दिएको छ । महानगरपालिकाभित्र सञ्चालनमा रहेका संस्थाहरुलाई वार्षिक साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत विवरणहरु पेस गर्न महानगरपालिकाको सहकारी विभागले निर्देशन दिएको हो ।

महानगरले ३० दिनभित्र विवरण पेस नगर्ने सरकारी संस्थाहरुलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।

महागरपालिका सहकारी ऐन, २०७४ बमोजिम आर्थिक वर्षको समाप्त भएको मितिले बढीमा ३ महिनाभित्र प्रचलित कानुनबमोजिम इजाजत प्राप्त लेखापरीक्षकबाट संस्थाको प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण गराउनुपर्ने र सोही ऐनमा भएको व्यवस्थाबमोजिम विवरणहरु महानगरपालिकामा बुझाउनुपर्ने हुन्छ ।

बालेनले दिए सहकारी संस्थाहरु तथा सदस्यहरुलाई यस्ता सुझाव :

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत पनि सहकारी संकटग्रस्त हुनबाट बचाउन सहकारी संस्थाका सेयर तथा बचतकर्तालाई अनुरोध गरेका छन् । मेयर साहले भने, ‘बस्तु र सेवाहरुको मूल्यबृद्धि र मुद्रा स्फीतिले वित्तीय क्षेत्रहरुमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेका छन । तरलताको अभाव सृजना भएको सर्वविदितै छ । महानगरपालिकाको सहकारी बिभागमा शेयर सदस्य र सञ्चालकहरुले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट अवस्था देखिन्छ । यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु ।’


१. तोकिएको समयमा सबै शेयर सदस्यहरुलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोवार बारे जानकारी गराउनु होला । विश्वसनीयता र अपनत्व ग्रहण गराउनकालागि नियमित रुपले शेयर सदस्यहरुसँग सम्पर्क र संवाद बढाउनुहोला ।

२.तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोवार र लगानी नगर्नुहोला ।

३. वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्नुहोला ।

४. परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्नुहोला ।

५. शेयर सदस्यहरुलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्नुहोला ।

६. सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रुपले संस्थासँग कारोवार भएको व्यक्तिहरुलाई मात्र जिम्मेवारी दिनुहोला ।

७. कानुनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्नुहोला ।

८. कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेश गर्नुहोला ।

९. ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्नुहोला ।

१०. जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्नुहोला । जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्नुहोला ।

११. राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरुबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्नुहोला।

१२. आफ्ना शेयर सदस्य र बचतकर्ताहरुलाई नियमित सहकारी शिक्षा प्रदान गर्नुहोला ।

१३. सहकारी संस्थाको साधारण सभामा अनिवार्य उपस्थित हुनुहोला । संस्थाको कारोवारको बारेमा नियमित रुपले जानकारी लिनुहोला ।

१४. नियमित साधारण सभा नगर्ने सहकारीहरुको बारेमा विभागमा जानकारी गराउनुहोला ।

१५. सञ्चालक समितिका पदाधिकारीहरुको आनीबानी र इमान्दारिताका बारेमा नियमित जानकारी लिनुहोला ।

१६. बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्नुहोला ।

१७. सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्था बारे जानकारी लिनुहोला ।

कार्यक्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोवार नगर्नु

१८ सञ्चालक समितिका पदाधिकारीहरुको पहिचान गरेर मात्र संस्थासँग कारोवार गर्नुहोला, नियमित संवाद र सम्पर्क राख्नुहोला ।

१९. आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजातसहित निक्षेप निस्सा लिनुहोला ।

२०. ऋण लिँदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिने र समयमा नै तिर्ने बानी बसाल्नु पर्ने ।

प्रकाशित : १३ असार २०८०, बुधबार ११:४०