‘सहकारीका समस्या समाधान गर्न सरोकारवालाहरु एकतावद्ध होऔ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

‘सहकारीका समस्या समाधान गर्न सरोकारवालाहरु एकतावद्ध होऔ’



बागलुङ । बागलुङमा पछिल्लो समय दुईवटा सहकारीमा आएको समस्यालाई समाधान गरी सहकारीको साख जोगाउनका लागि सबै सरोकारवालाहरु एकठाउँमा उभिएका छन् । दर्ता तथा निमयन गर्ने, शान्ति सुरक्षा प्रदान गर्ने, सहजीकरण गर्ने, समन्वय गर्ने, सञ्चालन गर्ने देखि सहकारीका कारण पीडित बनेकाहरुले एउटै मञ्चबाट शिव शिखर र इमेज सहकारीमा आएको समस्या समाधान गर्न ऐक्यवद्धा प्रकट गरेका छन् ।

सहकारीमा समस्या आउनुको कारणका विषयमा व्यापक चर्चा भयो, सहकारीका सञ्चालकहरुको बद्मासी सरोकारवालाहरुको विश्वास र वेवास्ता दुवैका कारण सहकारीमा वचत गरेका धेरै वचतकर्ताहरु पीडित बनेका छन्, अब ति पीडितहरुलाई न्याय दिन र स्थानीय स्तरमा सञ्चालित सहकारीहरुलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि सबै सरोकारवालाहरुका बीचमा समन्वय र सहकार्य गरेर अगाडि बढ्ने कार्यक्रमका सहभागीहरुले बताए ।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराको आयोजना तथा बागलुङ नगरपालिको समन्वयमा शुक्रवार बागलुङमा आयोजित सहकारी संस्थाका अध्यक्ष एवं सरोकारवालाहरुसंगको समन्वय तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले समस्या आइसकेपछि समाधानका लागि जुट्न पर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले सहकारीलाई सहकारीको मर्म, भावना र सिद्धान्त अनुसार सञ्चालन गर्न नसकेका कारण सहकारी क्षेत्रमा समस्या आएको बताए । उनले सहकारी सदस्यहरुको सहभागितामा सञ्चालन हुने भएकाले सदस्यहरुको सहभागितामा सबै सहकारीको स्वास्थ्य जाँचका लागि सहकारीहरुले आफ्नो एक्सरे आफै गर्न सुझाव दिए ।

जनप्रतिनिधिले सञ्चालन गरेकै सहकारीले वचतकर्ताको रकम जोखिममा पारेको विषयले आम जनतामा नैरास्यता प्रदान गरेको भन्दै थापाले सहकारीलाई उपयोग गरेर आफ्नो निजी सम्पत्ती जोड्ने प्रवृति भएका केही सहकारीका सञ्चालकहरुका कारण सहकारीको मर्म, भावना र सिद्धान्त अनुसार आफ्ना सदस्यहरुसंग मात्रै कारोबार गर्ने सहकारीहरुलाई पनि समस्या सिर्जना हुन सक्ने भएकाले सचेत रहन उनले आव्हान गरे ।     

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले जनताको विश्वास बेच्ने मानिसले जुनसुकै कुरा पनि बेच्न सक्ने भएकाले सचेत बन्नु पर्नेमा जोड दिए । इमेज वचत तथा ऋण सहकारी संस्थाका मुख्य व्यक्ति देव कुमार नेपालीले त्यो संस्थामा रकम राखेका वचतकर्ता लगायत सरोकारवालाहरुलाई जग्गा बेचेर वचत फिर्ता गर्छु भनेर विश्वास दिलाएर काम नगरेको बताए । मानिसहरुले विश्वास गरेका थिए, सबैलाई म पैसा तिर्छु, ढुक्क हुनुस भनेर विश्वास दिलाउने र विश्वास दिलाए अनुसार काम नगरेका कारण आज सबैलाई समस्या भएको उनको भनाइ थियो ।

बागलुङमा स्थानीय स्तरमा सञ्चालित सहकारीहरुले आफ्ना सदस्यहरुलाई लगानी गरेका छन्, केही रुपमा तरलताको समस्या भए पनि यहाँका सहकारीहरुले आफ्ना सदस्यहरुकै लागि ऋण लगानी गरेका छन, तर भुक्तपुर मुख्य कार्यालय रहेको शिवशिखर र पोखरामा सञ्चालनमा रहेको इमेज सहकारी यहाँ आएर बागलुङवासीको रकम जोखिममा पार्नुका साथै यहाँ प्रभावकारी रुपमा सञ्चालन भएका सहकारीलाई समेत समस्यामा पारेको बताए ।

संघीय सहकारी विभागको नियमन क्षेत्रभित्रको शिव शिखर र प्रदेश सहकारी विभागको नियमन क्षेत्रभित्रको इमेजका कारण नगरपालिका भित्रका सहकारीहरुलाई असहज अवस्था आउने वातावरण सिर्जना भएको भन्दै उनले यि दुइवटा सहकारीका सञ्चालकहरुलाई कार्वाही गरी वचतकर्ताको रकम जस्ताको तस्तै फिर्ता हुने वातावरण बनाउनु पर्नेमा जोड दिए ।

बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले बागलुङ नगरपालिका नियमन क्षेत्र भित्रका सहकारीहरु ठिक ढंगले सञ्चालन भएको बताए । हामीले धेरै चरणमा सहकारीहरुको अनुमगन नियमन गरेका छौ, सहकारीहरुले आफ्ना सदस्यहरुमा लगानी गरेका छन् कि छैनन् भन्ने कुरा हामीले हेरी रहेका छौ, यहा सबै सहकारीहरुले सदस्यहरुलाई नै लगानी गरेका छन् ।

इमेज र शिव शिखरले सहकारी ऐन, मूल्य मान्यता र सिद्धान्तको पालना नगरी सञ्चालन गरेका कारण समस्या आएको भन्दै उनले यि दुई वटा सहकारीबाट पीडित भएकाहरुलाई सबैले सहयोग गरेर न्याय दिनु पर्नेमा जोड दिए । तपाईहरुसंग भएका सूचनाहरु अनुसन्धानमा संलग्न सुरक्षा निकाय, नगरपालिका र प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयलाई उपलब्ध गराउनुहोस, अनुसन्धानमा सबैले सहयोग गरेर समस्या समाधान गरौ, उपप्रमुख खड्काको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रागंत बरालले इमेज सहकारीबाट पीडित भएकाहरुलाई तत्काल जाहेरी दर्ता गर्न आव्हान गरे । उनले प्रहरीले अनुसन्धान गरी दोषीलाई पक्राउ गरी कानुनी कार्वाहीका लागि जाहेरी आवश्यक रहेको भन्दै उनले पीडितहरुलाई भने, तपाइहरु जाहेरी दिनुस, म अनुसन्धानका लागि सहयोग गर्छु, । अपराधमा संलग्न जो सुकै व्यक्ति भएपनि उम्कन नपाउने भन्दै उनले राज्यलाई विश्वास गर्न र आवश्यक सूचना दिएर सहयोग गर्न समेत आग्रह गरे ।

कार्यक्रममा सहकारी अभियानका तर्फबाट राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्माले सहकारीमा आएको समस्या समाधानका लागि अभियानको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनीहरुले सहकारी अभियानका तर्फबाट निरन्तर रुपमा सहकारी ऐन नियमको कार्यान्वयनमा जोड दिएको भन्दै सहकारी ऐनमा भएको कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, कर्जा सुरक्षण केन्द्र कार्यान्वयन गर्नु पर्ने बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपकवावु केसीले शिव शिखर सहकारीको समस्याका बारेमा संघीय सहकारी विभागले प्रक्रिया अगाडि बढाएको र इमेजको समस्याको बारेमा अनुसन्धान प्रक्रिया अगाडि बढाउनका लागि पीडितहरुलाई जाहेरी दिन आग्रह गरे ।

कार्यक्रममा सहभागीहरु भीम पौडेल, ललिता थापा, डिल बहादुर कार्की, हरि बहादुर भण्डारी, मनोज थापा, नारायण शर्मा, बाबुराज कार्की, दिवाकर पौडेल र हिरा बहादुर केसीले जिज्ञासा तथा सुझाव राखेका थिए । कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलको स्वागत र सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : २१ जेष्ठ २०८०, आईतवार १०:५४