काठमाडौं । ज्योति क्यापिटलको अध्यक्षमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) कपिल ढकाल चयन भएका छन् । बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल जेठ ३ गतेदेखि लागु हुनेगरी क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन भएका हुन् ।
प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् रहेका कपिल ढकालसंग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ ।
यसका साथै, उनले एनआईसी एसिया क्यापिटल तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रुपमा कार्यरत थिए ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । यस क्यापिटलले चालु आ.व.२०७९/८० को तेस्रो त्रैमाससम्म एक करोड २४ लाख ७१ हजार ३ सय ९ रुपैया मुनाफा गरेको छ ।
क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।
Comment