बैंकहरु स्वस्थ छन्, सानोतिनो धक्काले जाखिम आउने अवस्था छैनः गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकहरु स्वस्थ छन्, सानोतिनो धक्काले जाखिम आउने अवस्था छैनः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंक तथा वित्तीय संस्थाहरु सुरक्षित रहेको बताएका छन् । मंगलबार राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले समग्रमा बैंकहरूको अवस्था सुरक्षित देखिएको र बैंकहरु स्वस्थ भएको उल्लेख गर्दै सानो नोतिनो धक्काले जाखिम आउने अवस्था नरहेको बताए ।

गभर्नर अधिकारीले भुत्तानी सन्तुलनमा सुधार, विदेशी मुद्रा सञ्चिती बढेको बताएका छन्। यस्तै रेमिट्यान्समा आप्रवाहमा पनि सुधार आएको गभर्नर अधिकारीले बताए। अधिकारीले ब्याजदर बजारले निर्धारण गर्ने धारणा राखे ।

‘हामीले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको अन्तर ४ प्रतिशतभन्दा बढी हुनु हुँदैन,’ अधिकारीले भने,’ब्याजदर बढदा वा घट्दा बैंकले पाउने मार्जिन ४ प्रतिशत मात्रै हो । ब्याजदर बढ्दा निक्षेप कर्जाले लाभ पाउँछन् । घट्दा ॠणीले लाभ पाउँछन् । यदी तरलता सहज भयो भने ब्याजदर घट्छ । तरलता संकुचित भयो भने ब्याजदर बढ्छ । ब्याजदर बजारले निर्धारण गर्ने हो।’

आगामी दिनमा ब्याजदर कम हुँदा पनि उक्त स्रोत उत्पादन बढाउने क्षेत्रमा प्रयोग नभए फेरि समस्या आउन सक्ने अधिकारीले बताए । गभर्नर अधिकारी अर्थतन्त्र सुधार हुँदै गए पनि जनतालाई सुधार भयो भन्ने महसुस हुन समय लाग्ने बताए । कोरोना महामारीको क्रममा राष्ट्र बैंकले बजार सहजीकरण गर्न कर्जा लगानी गरेको भए पनि केही ब्यक्तिले दुरुपयोग गरेको अधिकारीले बताए ।

‘यो वर्ष हामीले कर्जा दुरुपयोग गर्नेलाई कारबाही गरेका छौं, व्यवसाय संचालन गर्न दिएको कर्जा दुरुपयोग भए नभएको विषयमा हामीले स्वतन्त्र लेखापरीक्षण पनि गरिरहेका छौं,’ अधिकारीले भने, ‘हामीले एकै पटक कठोर प्रकृतिको बैंकिङ कसुरमा कारबाही गर्नुभन्दा पनि व्यवसायी र सरोकारवाला सबै पक्ष सुधार हुन् भन्ने हाम्रो चाहना छ ।’

बैंकबाट ॠण लिएर तिर्दिन भन्नु अराजकता भएको अधिकारीले बताए । ‘बैंक, लघु वित्त वा अन्य कुनै पनि संस्थाबाट लिएको ॠण तिर्नै पर्छ,’ अधिकारीले भने, ‘अहिले ॠण नतिर्ने आन्दोलन जसरी चर्किएको छ, यसले बैंकहरूलाई पनि अध्ययन बिना कर्जा दिनु हुँदैन भन्ने ज्ञान दिएको छ ।’

वाार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.४४ प्रतिशत, आयात १९.१ प्रतिशत, निर्यात २९.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले घटेको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशत र अमेरिकी डलरमा १४.८ प्रतिशतले बढेको छ। शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोड रुपैयाँ बचतमा रहेको छ ।

प्रकाशित : २८ चैत्र २०७९, मंगलवार १५:५७