काठमाडौं । नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’ ले आफ्नो पार्टीको कसैसँग एकता नभएको बताएका छन् । आइतबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुशीलले पार्टीमा कारवाही परेकाहरु अन्त प्रवेश गरेको विषयलाई लिएर संचारमाध्यममा एकताको हल्ला चलाएको भन्दै आपत्ति समेत जनाए ।
केही दिन पहिले प्रभु साहले नेतृत्व गरेको आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको भन्ने प्रचार हल्ला मात्रै भएको सुशीलले बताए । उनले चैत्र ७ र ८ गते पोखरामा सम्पन्न केन्द्रीय समिति बैठकले क्रान्तिकारी धारका पार्टीसँग एकता गर्ने निर्णय गरेको तर अहिलेसम्म कसैसँग एकता नभएको बताए ।
“हाम्रो पार्टीको कसैसँग एकता भएको छैन, लुकीछिपी केही व्यक्तिहरु अपमानित रुपमा अर्को पार्टीमा प्रवेश गरेको विषयलाई एकता भन्नु गलत हो । यो एकतावद्ध हुन लागेको माओवादी आन्दोलन र समाजवादी क्रान्तिविरुद्धको प्रचार हो । संघर्ष अगाडि बढ्ने थाहा पाएपछि केही पात्रहरु पार्टीबाट बारिएका हुन्” बुढाथोकीले भने । नेकपा एमालेतिर भएका पूर्वमाओवादी नेताहरुलाई फर्किन बुढाथोकीले सुझाव दिए ।
उनले जनयुद्धका उपलब्धीहरुको रक्षाको लागि सबै माओवादीहरुबीच नयाँ ढंगको एकता आवश्यक रहेको बताए । “एमालेमा गएका बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत पाँच सय नेता कार्यकर्ता एमालेमा गएका छन् । तपाईँ हामीले दुःख गरेर जनयुद्ध लडेका थियौँ, त्यो के अपराध हो रु तपाईँहरुको सम्मान त्यहाँ हुँदैन भने विद्रोह गर्नुस्, नयाँ ढंगको सहकार्य गरौं” बुढाथोकीले भने । पोखरामा केही अराजक समूहले गरेको कार्यहरुलाई पार्टीसँग जोडेर प्रचार गरिएको भन्दै बुढाथोकीले खण्डन गरे ।
उनले नेपाली काँग्रेस, नेकपा एमालेका स्थानीय कार्यकर्ताहरुको संलग्नता रहेका दाबी गरे । विप्लव नेतृत्वका नेकपा र नेकपा माओवादी समाजवादीबीच पार्टी एकताको सैद्धान्तिक सहमति भएको घोषणा गरिएको थियो । अहिले दुबै पार्टीले एकताको कामलाई अगाडि बढाएका छन् । तर, औपचारिक रुपमा एकता भएको छैन ।
Comment