नौगड गाढ आयोजनामा प्रभू र एसबीआई बैंकको १ सय करोड लगानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नौगड गाढ आयोजनामा प्रभू र एसबीआई बैंकको १ सय करोड लगानी



काठमाडौ १३ माघ  । दार्चुलाको बहने नौगड गाढ नदीमा अपी पावर कम्पनी लिमीटेडले निर्माण गरिरहेको ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनामा दुुई बैंक १ सय करोड ऋण लगानी गर्ने भएका छन् ।

नेपाल एस.बि.आई. बैंक लिमिटेडको अगुवाईमा प्रभु बैंक लिमिटेड समेतले सो आयोजनामा १ सय करोड ऋण लगानी गर्ने बुधबार सम्झौता भएको हो । यो आयोजनामा एसबीआई बैंकले ५५ करोड र प्रभूू बैंकले ४५ करोड ऋण लगानी गर्ने सम्झौता भएको हो ।

अपी पावर कम्पनीले दोश्रो आयोजनाको रुपमा दार्चुला जिल्लामा बहने नौगड गाढ नदीमा ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । यो आयोजनाको कुल लागत रु.१४४ करोड हुने अनुमान छ । यस मध्ये रु.१०० करोड (७०%) बैंक ऋण र ४४ करोड (३०%) शेयरधनीको लगानी रहने बताइएको छ ।

ऋण लगानी सम्झौता सम्बन्धमा थापाथलीस्थित टेड टावर विजिनेश सेन्टरमा आयोजित कार्यक्रममा अपी पावर कम्पनीका कार्यकारी संचालक सञ्जिव न्यौपानेले आयोजना २०७४ साल चैत मसान्तभित्र सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा विद्युत आपूर्तिको व्यवस्था मिलाइने जानकारी दिए ।

यो आयोजनाबाट उत्पादित विद्युत ८ कि.मि. लामो ३३ केभी ट्रान्समिशन लाइनबाट नेपाल विद्युत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडी १३२ केभी ट्रान्समिशन लाईनमार्फत कैलाली जिल्लाको अत्तरीया सबस्टेशन हुँदै देशभर प्रशारण हुनेछ ।

कम्पनीले यसअघि १७ महिनाको छोटो अवधिमा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाको निर्माण गरी २०७२ साल भदौदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिइएको थियो । अपी पावर कम्पनी जलविद्युत आयोजनाको पहिचान, विकास, निर्माण र संचालन गर्ने उद्देश्यका साथ २०६० साल अषाढ ५ गते स्थापना भएको थियो ।

प्रकाशित : १३ माघ २०७३, बिहीबार ०६:०२