वाणिज्य बैंकले बेच्ने भयो ३० प्रतिशत शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वाणिज्य बैंकले बेच्ने भयो ३० प्रतिशत शेयर



काठमाडौं, ६ माघ  । नेपाल बैंकबाट सरकारले आफ्नो शेयर झिक्ने घोषणा गरेको भोलीपल्ट बिहिबार राष्ट्रिय वाणिज्य बैंक ले पनि ३० प्रतिशत शेयर सर्वसाधारणलाई विक्रि गर्ने प्रक्रिया अघि बढेको जानकारी गराएको छ ।

बैंकको ५२ औं वार्षिकउत्सबको पूर्व सन्ध्याको अवसरमा काठमाडौंमा आयोजित पत्रकार संमेलनमा बैंकका अध्यक्ष रविन्द्र प्रसाद पाण्डेले क्याविनेटमा उक्त प्रस्ताव पेश भएको जानकारी दिएका हुन् । बैंक सन्चालक समितिले शेयर वितरणको लागि अघि बढाएको प्रस्ताव हाल आफ्नो घर्ररामा थन्काएर माघ ५ गते अर्थमन्त्रि कृष्ण बहादुर महराले नेपाल बैंकको सबै शेयर बेच्ने घोषणा गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले अन्य बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभाव देखिए जस्तो हाम्रो बैंकमा नरहेको बताए । उनले अहिले पनि वाणिज्य बैंकमा लगानी योग्य तरलता अधिक नै रहेको जानकारी गराए । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंक ५२ औं वर्षमा प्रवेश गर्दै गर्दा बैंकले ५१ औं वर्षसम्म गरेका कार्य विवरण समेत सार्वजनिक गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ६८ जिल्लामा १ सय ७१ वटा शाखा, ९० वटा एटिएम, १७ स्थानमा एक्टेन्सन काउन्टर, ७५ स्थानमा शाखा रहित बैंकिङ् सेवा विस्तार गरि सकेको छ । चालु आर्थिक वर्षमा थप १८ वटा शाखा, ४० वटा एटिएम र २५ स्थानमा शाखारहित बैंकिङ् सेवा विस्तार गर्ने योजना रहेको श्रेष्ठले पत्रकार संमेलनमा जानकारी दिए ।

बैंकले पौष मसान्त सम्ममा कुल निक्षेप १ खर्ब ३८ अर्ब र कुल लगानी ९३ अर्ब ४८ करोड गरेको छ । यस अवधिमा बैंकले करिव १ अर्ब ३० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । सोहि अवधिमा गत वर्ष १ अर्ब ९ करोड रुपैयाँ मात्र आम्दानी गरेको थियो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
बैंकको करिव ४ लाख ग्राहकले भिसा डेविट कार्ड मार्फत स्वेदेश तथा विदेशमा रहेका एटिएम आउटलेटबाट सेवा लिगेका छन् । त्यस्तै बैंकले एटिएम सेवालाई भरपर्दो बनाउन चिप बेस्ड डेविड कार्ड संचालनमा ल्याउने गृहकार्य अघि बढाएको जनाएको छ ।

प्रकाशित : ७ माघ २०७३, शुक्रबार ०९:२४