ग्लोबल आइएमई बैंकको ११ करोड २६ लाख कित्ता सेयर सूचीकृत, बुधबारदेखि कारोबारमा आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ग्लोबल आइएमई बैंकको ११ करोड २६ लाख कित्ता सेयर सूचीकृत, बुधबारदेखि कारोबारमा आउने



काठमाडौं । सोमबार ग्लोबल आईएमई बैंक लिमिटेडको ११ करोड २६ लाख १४ हजार ३३७ दशमलव १७ कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । ग्लोबल आईएमईले गाभेको बैंक अफ काठमाण्डूतर्फको उक्त सेयर आज सुचीकृत भएको हो ।

बैंक अफ काठमाण्डूको सेयर ग्लोबल आईएमई बैंकको नाममा सूचीकृत भएसँगै अब सेयर कारोबार पनि सोही बैंकको नाम र कारोबार संकेतबाट हुनेछ ।

ग्लोबल आईएमई बैंकको यसअघि नै सूचीकृत रहेको २४ करोड ५० लाख ९६ हजार २६१ कित्ता र आज सुचीकृत भएको ११ करोड २६ लाख १४ हजार ३३७ दशमलव १७ कित्ता गरी बैंकमा कुल ३५ करोड ७७ लाख १० हजार ५९८ दशमलव १७ कित्ता सेयर पुगेको छ । चुक्ता पुँजीका आधारमा बैंक सबैभन्दा ठूलो बनेको छ ।

सोमबार उक्त सेयर सुचीकृत भएसँगै अब फागुन १० गते बुधबारदेखि कारोबारमा आउने भएको छ । मंगलबार ग्याल्पो ल्होसारको सार्वजनिक विदा रहेकाले बैंकको सेयर बुधबारदेखि नियमित कारोबारमा आउनेछ । नेप्सेले बैंकको पहिलो कारोबारको लागि सुरुवाती मूल्य २०९.४२ रुपैयाँ निर्धारण गरेको छ ।

प्रकाशित : ८ फाल्गुन २०७९, सोमबार १७:१९