काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीले व्यवसायिक साझेदारहरूको बार्षिक सम्मेलन चितवनको भरतपुरमा सम्पन्न गरेको छ । मुक्तिनाथ कृषि कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियानमार्फत समग्र कृषि मूल्य शृङखला व्यवस्थापनमा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापना भएको मुक्तिनाथ बिकास बैंकको सहयोगी कम्पनी हो ।
सो अवसरमा उक्त सम्मेलनको अध्यक्ष मुक्तिनाथ बिकास बैंकका एवम् मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिए । उनले भने, “स्थानीय क्षेत्रमा कृषि उद्यमीसँग नजिक रहेर कृषि प्रविधि तथा सेवा बिस्तारमा अहोरात्र खटिरहेका व्यवसायिक साझेदारहरूको कृषि क्षेत्रको वास्तविक समस्या पहिचान, कृषि मूल्य शृङ्खलाको उचित व्यवस्थापन र समग्र कृषि उत्पादन र उत्पादकत्व बृद्धिमा अत्यन्त महत्त्वपूर्ण भूमिका छ ।”
त्यस्तै, मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले व्यवसायिक साझेदार, कृषि कम्पनी र बैंकको त्रिपक्षीय साझेदारीद्वारा कृषि क्षेत्रलाई उद्यमको रूपमा बिकास गर्दै ग्रामिण क्षेत्रको अर्थतन्त्र उकास्न समग्र कृषि अर्थ चक्रको व्यवस्थित बिकास गर्नुपर्ने बताए ।
बैंक तथा वित्तीय संस्थाहरुको लगानी उत्पादनशील क्षेत्र भन्दा बाहिर भइरहेको अवस्थामा अवको लगानी क्षेत्र कृषि हुनुपर्ने कुरामा जोड दिंदै आवश्यकता अनुसार व्यवसायिक साझेदार तथा कृषि उद्यमीहरुसँग वित्तीय क्षेत्रमा प्रत्यक्ष जोडिन तयार रहेको सिइओ पोखरेलले जानकारी गराए ।
कम्पनीका नायव महाप्रवन्धक रामशरण तिमल्सिनाकाअनुसार कम्पनीले कृषकहरुको उत्पादन र उत्पादकत्व बृद्वि गर्न आफ्नो वस्तु तथा सेवाहरु देशैभरी पुर्याई बजारको माग अनुसार उत्पादन प्रणालीको बिकास गरि कृषि उपजहरुको खरिद सुनिश्चितताका साथ गुणस्तरीय उत्पादन आम उपभोक्तामाझ पुर्याउने उद्देश्यका साथ कार्य गरिरहेको छ ।
त्यस्तै, कम्पनीका कर्पोरेट ब्राण्ड एण्ड कम्युनिकेशन विभागका विभागीय प्रमुख रोशन मल्लका अनुसार कम्पनीले आफ्ना व्यवसायिक साझेदारहरुको व्यवसायिक क्षमता अभिबृद्वि, समस्याहरुको पहिचान, दुरदराजका कृषकहरु माझ सर्वसुलभ रुपमा गुणस्तरीय कृषि प्रविधि तथा सेवाहरु विस्तार गर्न भावी रणनीति समेत तयार गर्ने उद्देश्यले सो सम्मेलनको आयोजना गरिएको हो ।
सी. एम. टि. रिसोर्ट, भरतपुरमा संचालित उक्त सम्मेलनमा देशभरका व्यवसायिक साझेदारहरूको सक्रियतापूर्वक उपस्थिति रहेको कम्पनीका विभागीय प्रमुख मल्लले बताए । सम्मेलनमा बेस्ट च्यानल पार्टनर २०७८/७९, बेस्ट इन्टेरियर आफ द इयर २०७८/७९, योङ एग्रो इन्टरप्रिनर २०७८/७९ विधाबाट तत् विधाहरूमा उत्कृस्ट व्यवसायिक साझेदारहरू र कम्पनीको बजार प्रतिनिधि मध्य एक जनालाई :MKCL CHAMP of the year विधाबाट सम्मान गरिएको थियो । यसबाट ब्यवासायिक साझेदार तथा कम्पनीको प्रतिनिधिको रूपमा खाटिएका कर्मचारीहरूलाई थप प्रेरणा तथा हौसला मिल्ने कम्पनीका बिक्री बिभाग प्रमुख गोपाल लम्सालले बताए ।
चितवनको भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा माघ २७ देखि २९ गतेसम्म सञ्चालित पाँचौ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनीको अवसर परेर आयोजना गरिएको सो सम्मेलनमा सहभागी व्यवसायिक साझेदारहरूलाई प्रदर्शनीको समेत भ्रमण गराइएको थियो ।
सो भ्रमणबाट विभिन्न कृषि यन्त्र, उपकरण तथा नवीनतम प्रविधिहरूको बारेमा जानकारी लिई स्थानीय स्तरमा कृषकहरूमाझ प्रविधि प्रसार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।
उक्त प्रदर्शनीमा मुक्तिनाथ कृषि कम्पनी प्रदर्शनीको कृषि साझेदारको रूपमा रही कम्पनीमार्फत प्रदान गर्दै आएका नवीनतम् कृषि प्रविधि, वस्तु तथा सेवाहरूको बारेमा भ्रमणकर्तालाई सुसुचित गराएको थियो ।
Comment