काठमाडौं । प्रभु इन्सुरेन्सको खुद नाफामा सामान्य सुधार भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४.२५ प्रतिशतले खुद नाफा वृद्धि गरी ९ करोड ४७ लाख ४ हजार रुपैयाँ पुर्याएको हो ।
गत वर्षको यसै अवधिमा ९ करोड ८ लाख ४२ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको खुद बिमा शुल्क आम्दानी ०.१४ प्रतिशतले मात्र बढेर ४० करोड २८ लाख ३१ हजार रुपैयाँ पुगेको छ । बिमा कोषमा ९६ करोड २७ लाख रुपैयाँ जम्मा भएको छ ।
प्रभुको रिजर्भ कोष २३.४० प्रतिशतले घटेर २३ करोड ६८ लाख रुपैयाँमा आएको छ । हाल चुक्ता पुँजी १ अर्ब २८ करोड ९७ लाख १२ हजार रुपैयाँ छ । कम्पनीले उक्त पुँजीमा ६.७० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । प्रभु इन्सुरेन्सको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६९ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने २०० रुपैयाँ रहेको छ ।
Comment