लाभांश दिने घोषणा गरेको विजय लघुवित्तको सेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लाभांश दिने घोषणा गरेको विजय लघुवित्तको सेयर कारोबार रोक्का



काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले लाभांश घोषणासम्बन्धी निर्णयबारे ढिला गरी जानकारी गराएकोले धितोपत्र सूचीकरण विनियमावली, २०७५ भएको व्यवस्थाबमोजिम विजय लघुवित्त सेयर कारोबार रोक्का गरेको हो।

नेप्सेले सेयर कारोबार रोक्का गर्दै तीन कार्यदिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पनि विजय लघुवित्तलाई निर्देशन दिएको छ।

विजय लघुवित्तको सञ्चालक समितिको माघ १० गते बसेको बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको जानकारी संस्थाले माघ २५ गते साँझ ६ः३५ बजे नट्सको लगइनमार्फत नेप्सेमा जानकारी गराएको थियो।

सोही कारणले समयमै निर्णयबारे जानकारी नगराई धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारीबाट सर्वसाधारणलाई वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको निष्कर्ष निकाल्दै नेप्सेले विजय लघुवित्तमाथि कारबाही गरेको हो।

प्रकाशित : 9 February, 2023 1:21 pm