नेपाल सिनेमा फेस्ट–२०२३ कार्यक्रमका बारेमा बोर्डले निकाल्यो कार्यसूची, ३० लाख खर्च विनियोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल सिनेमा फेस्ट–२०२३ कार्यक्रमका बारेमा बोर्डले निकाल्यो कार्यसूची, ३० लाख खर्च विनियोजन



काठमाडौं । आगामी माघ २९ गतेदेखि फागुन ३ सम्म युएईको दुबईमा नेपाल सिनेमा फेस्ट–२०२३ कार्यक्रम आयोजना हुने भएको छ । ‘नेपाली सिनेमा र पर्यटनलाई विश्वमाझ लैजाने’ मुख्य नारासहित सरकारीस्तरबाट हुन लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजक चलचित्र विकास बोर्ड रहेको छ ।

जसको प्रमुख उद्देश्य नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण र विदेशी बजार विस्तार गर्नु रहेको छ । जसको लागि ३० लाख रुपैयाँ बजेट विनियोजन भैसकेको छ । कार्यक्रम सम्पन्न गर्नको लागि प्रमुख खर्चहरु जस्तै ः लगभग ४० सहभागिहरुको हवाई टिकट खर्च, भिसा शुल्क, होटल बसोबास खर्च, कार्यक्रम हलमा हुने खर्चहरु बोर्डले सोझै सम्बद्ध निकायलाई भुक्तानी दिने जनाएको छ ।

बोर्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ , उक्त कार्यक्रमलाई सफल तुल्याउने व्यवस्थापकीय जिम्मा सूर्य कर्पोरेसन प्रालिले लिएको छ । यो कार्यक्रम आयोजना गर्न बोर्डले सूर्य कर्पोरेसनसँग सहकार्य गरेको नभई उसलाई व्यवस्थापकीय जिम्मेवारी मात्र प्रदान गरेको स्पष्ट पारेको छ । यसका लागि बोर्ड र कर्पोरेसनबीच एमओयू सम्झौतामा हस्ताक्षर समेत भैसकेको छ । कर्पोरेसनले प्रस्तुत खर्च बाहेकका अन्य व्यवस्थापकीय जिम्मेवारी लिनेछ । युएईमा यो कार्यक्रम सम्पन्न गर्न बोर्डले त्यहाँस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, अन्य संस्थाहरु तथा व्यक्तिगतरुपमा पनि समन्वय र सहजीकरण गर्ने बताएको छ ।

साथं, उक्त फेस्टमा दुई नेपाली चलचित्रहरु ‘ऐना झ्यालको पुतली’ र ‘कबड्डी ४’ प्रदर्शन गरिनेछ । यसवर्ष नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको र बुसान फेस्टिभलमा आधिकारिक छनोट भएको कारण नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’लाई प्रदर्शन गर्न लागिएको हो । त्यस्तै, नेपाली चलचित्रको बक्स अफिस इतिहासमा सर्वाधिक ग्रस कलेक्सन गरेको फिल्म भएको कारण ‘कबड्डी ४’ प्रदर्शन हुन लागेको उल्लेख छ ।

प्रदर्शन हुने यी चलचित्रलाई युएईस्थित कूटनीतिज्ञ, व्यवसायी, नेपाली समुदाय तथा फिल्ममेकरले हेरेर छलफल चलाउनेछन् । २९ गते पत्रकार सम्मेलन हुनेछ । साथै सोही दिन ‘कबड्डी ४’को प्रदर्शनी र त्यसपछि निर्माता, निर्देशक र दर्शकबीच अन्तरक्रिया चलाइने भएको छ । फागुन १ गते सहभागीहरुले दुबईमा रहेका छायाङ्कन गन्तव्यहरुको अध्ययन अवलोकन भ्रमण गर्नेछन् । सोही दिन फेस्टको मुख्य कार्यक्रम आयोजना हुनेछ । साथै साँस्कृतिक सांगीतिक प्रस्तुति दिने कार्यक्रम पनि तय गरिएको विज्ञप्तीमा भनिएको छ ।

त्यसैगरी फागुन २ गते नेपाली चलचित्रको बजार विस्तार र अहिलेको वर्तमान अवस्थाको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सुचनामा उल्लेख छ । सोही दिन फिल्म सिटी टूरसहित भेटघाट र छलफल कार्यक्रम पनि हुनेछ । फागुन ३ मा दुबईस्थित स्वदेशी तथा विदेशी चलचित्रकर्मी, लगानीकर्ता, व्यवसायी, गैरआवासीय नेपाली, नेपाली संघसंस्थाका प्रतिनिधिहरुबीच नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन सम्बन्धी बृहत् अन्तरक्रिया हुने जनाएको छ ।

सोही दिनमा बोर्डले तयार पारेको गण्डकी प्रदेशको पर्यटन क्षेत्र र छायाङ्कन गन्तव्य सम्बन्धी श्रव्यदृश्य प्रचारसामग्री प्रदर्शन गरिनेछ । श्रव्यदृश्य सहित अन्य प्रचार सामाग्री पनि वितरण हुनेछ । जसले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनस्थलको रुपमा परिचित गराउन मद्दत गर्ने विश्वास लिइएको छ । सोही दिनमा अरबी भाषामा सबटाइटल गरिएको नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’को प्रदर्शनी र त्यसपछि फिल्ममाथि छलफल समेत हुने बताइएको छ ।

कार्यक्रम सफलताका लागि नेपाल पर्यटन बोर्ड, नेपाल टेलिभिजन र नेपाल वायुसेवा निगम लिमिटेडले सहयोग गर्ने भएका छन् । साथै यसै विज्ञप्ती नेपाली चलचित्रकर्मी, विभिन्न सरोकारवाला संघसंस्थाहरु, सम्पूर्ण सञ्चार माध्यमहरु तथा नेपाली चलचित्रप्रेमीहरुलाई यो कार्यक्रम सफल बनाउन सहयोग गरी नेपाली राष्ट्रिय चलचित्र उद्योगको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास लिएको जनाएको छ ।

प्रकाशित : १९ माघ २०७९, बिहीबार २१:५०