सभामुख पदका लागि मतदान हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सभामुख पदका लागि मतदान हुँदै



काठमाडाैं । प्रतिनिधिसभाको सभामुख पदका लागि आज बिहिबार मतदान हुँदै छ । आज बिहान ११ बजे बोलाईएको प्रतिनिधिसभाको बैठकमा सभामुख चयन गर्नको लागि मतदान हुने भएको हो ।

सभामुख पदको लागि मुलुकका प्रमुख दुई दलबाट एक–एक जनाको उम्मेदवारी परेको छ । सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरे र प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेले सभामुखका लागि मनोनयन दर्ता गराएका छन् ।

एमालेका उम्मेदवार घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ रहेका छन् । समर्थकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे , राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रहेका छन् ।

कांग्रेस उम्मेदवार ईश्वरीदेवी न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीले सल्यानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा उपमहासचिव प्रकाश ज्वाला रहेका छन् ।

प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्ने निर्देशन दिएको थियो । सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ ।

मनोनय दर्तापछि सञ्चारकर्मीको जिज्ञासामा सभामुखका उम्मेदवार घिमिरेले आफू निर्वाचित भएको खण्डमा विगतको शिक्षा र राजनीतिक दलसँगको परामर्श एवं सहमतिका आधारमा संसद्का बैठक तथा अरु प्रक्रियालाई व्यवस्थित गर्ने बताए । उनले भने , “म त्यो जिम्मेवारीमा पुग्ने निश्चत नै छ, विगतबाट शिक्षा लिँदै आरोप, प्रत्यारोप, पूर्वग्रहबाट टाढा रही यथार्थ ढङ्गले ठिक बाटोबाट सदनलाई अघि लग्ने विचार छ, सभामुखले खेल्ने भूमिकामा कुनै कमी हुन नदिई काम गर्नेछु ।”

कनाग्रेस उम्मेदवार न्यौपानेले प्रतिनिधिसभाका सदस्यको मतले आफू निर्वाचित हुन्छु भन्नेमा ढुक्क रहेको प्रतिक्रिया दिईन्। उनले भनिन्, “सभामुखमा निर्वाचित भइसकेपछि सबैको सभामुख हुने भएकाले सभा सञ्चालन गर्दा तटस्थ रही संसद् र सांसदप्रति न्याय गरी सकेसम्म राम्रो ढङ्गले सदन चलाउँछु भन्ने प्रण गर्छु ।”

प्रकाशित : ५ माघ २०७९, बिहीबार १०:४८