निर्वाचन आयोगद्वारा प्रतिनिधि सभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

निर्वाचन आयोगद्वारा प्रतिनिधि सभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस



काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका हुन् ।

शीतल निवासमा आयोजित समारोहमा आयोगका पदाधिकारीहरू समेतको उपस्थिति थियो । आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो । प्रमुख आयुक्त थपलियाका अनुसार देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यको विवरण पर्सि पुस २ गते एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेस गरिने छ ।

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रकृया सुरु भएको छ । राष्ट्रपतिले प्रतिवेदन बुझेपछि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा निर्वाचित उम्मेदवारको नामावली नेपाल राजपत्रमा प्रकाशित हुनेछ ।

मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेको हो । नतिजाको पूर्णविवरणसहित परिणाम घोषणा भएको ७ दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्सिर तेस्रो हप्ता मात्रै सकिएकाले अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

आयोगको अन्तिम परिणामअनुसार प्रतिनिधि सभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० जना गरी कुल ८ सय २५ जना निर्वाचित भएका छन् ।

प्रकाशित : २९ मंसिर २०७९, बिहीबार १२:२४