सम्पूर्ण सुचिकृत कम्पनीको सञ्चालक तथा कार्यकारी प्रमुखको शेयर रोक्का राख्न नेप्सेको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सम्पूर्ण सुचिकृत कम्पनीको सञ्चालक तथा कार्यकारी प्रमुखको शेयर रोक्का राख्न नेप्सेको निर्देशन



काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख लगायतको शेयर कारोबार रोक्का राख्ने ब्यबस्था मिलाउन सम्पूर्ण सुचिकृत कम्पनीलाई निर्देशन दिएको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ को नियम ३८ (१क) अनुसार शेयर कारोबार रोक्का राखेर सो को जानकारी नेप्सेमा गराउन सम्पूर्ण सुचिकृत कम्पनीलाई नेप्सेले निर्देशन दिएको हो।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१क) अनुसार “संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रुपले सलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्ने छैन’’ भन्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार सम्पूर्ण सूचीकृत कम्पनीहरुले उल्लेखित पदाधिकारीहरुको सम्बन्धित सूचीकृत कम्पनीमा भएको सेयर सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा नियमावलीमा उल्लेखित समयावधिसम्म रोक्का राख्न धितोपत्र ऐन, २०६३ को दफा ४८ अनुसार यो निर्देशन जारी गरिएको नेप्सेले जनाएको छ।

यस विषयमा १५ दिनभित्र सेयर रोक्का राखी जानकारी गराउन पनि नेप्सेले निर्देशन दिएको छ। नयाँ हुने उल्लेखित यही व्यवस्थाबमोजिम सेयर रोक्का गरेरमात्र जिम्मेवारी लिने व्यवस्था गर्न नेप्सेले सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ।

प्रकाशित : 14 December, 2022 5:03 pm