काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ मा हाम्रो पार्टीको लौरो अभियान अन्र्तगत उम्मेद्वारी दिएका मधुसुधन पाठक (सितेबा) र सोही क्षेत्रमा प्रदेशसभा (क) का उम्मेद्वार रामहरि अधिकारीले विद्रोहमार्फत राजनीतिक शुद्धिकरणमा सहयोग गर्न आग्रह गरेका छन् । संयुक्त चुनावी प्रतिबद्धता पत्र एवं अपिल सार्वजनिक गर्दै उनीहरुले मंसिर ४ मतदाताको विवेक र आफ्नो विद्रोहको संयोजन गर्ने दिन हुने बताएका हुन ।
‘मैलै परम्परागत राजनीति र व्यक्तिको विकल्प दिन उम्मेदवारी दिएर विद्रोह गरेको छु, तपाईंले विकल्प रोजेर विद्रोह गर्ने बेला भएको छ । मंसिर ४ तपाईंको विवेक र मेरो विद्रोहको संयोजन गर्ने दिन हो । त्यहीँबाट शुरु हुनेछ, नयाँ दिन र पारदर्शी एवं जनताप्रति उत्तरदायी राजनीति’, पाठकको प्रतिबद्धता–पत्रमा उल्लेख छ ।
व्यावसायिक कृषि, सहकारी, पत्रकारिता, कलाकारिता, शिक्षा तथा स्वास्थ्यका साथै पर्यटन क्षेत्रको लामो अनुभव कर्मशीलतासँगै आफ्नो अध्ययन र अनुभवलाई राजनीतिक क्षेत्रको माध्यमबाट नागरिक सेवामा समर्पित रहने प्रतिबद्धताका साथ उम्मेदवारी दिइएको उनीहरुले दावी गरेका छन् । लामो समय समाजसेवामा सक्रिय रहेको र अव राजनीतिमार्फत जनसेवामा लाग्न चाहेको पाठक र अधिकारीको भनाई छ ।
‘व्यवस्थामाथि होइन आजको राजनीतिक नेतृत्वमाथि जनताका प्रश्नैप्रश्न र गुनासै–गुनासा छन् । निःस्वार्थ भावले गर्ने राजनीति आज कमाइ खाने भाँडो भएको छ । पारदर्शिताको अभाव छ । राजनीति शक्ति र सत्ताको दुरुपयोग गर्ने अस्त्रजस्तो भएको छ । तर, आज जनताले पारदर्शी राजनीति खोजिरहनु भएको छ । कसले दिन्छ ? अलमल छ’, उनको प्रतिबद्धता–पत्रमा लेखिएको छ, ‘यही अलमल चिर्न मैले राजनीतिक मैदानमा पस्ने निर्णय गरेको हुँ । दिगो विकास, जनताको समृद्धि र व्यावसायिक आत्मनिर्भरता मैले खोजेको राजनीति हो । विकृति–विसंगतिविरुद्ध सुशासन दिन चाहेको हुँ । पारदर्शी र जनताप्रति जवाफदेही सरकारको प्रत्याभूति गराउन एउटा ठूलो संकल्प लिएर राजनीतिमा आएको छु ।’
पाठकले पुँजी र श्रमको एकीकरण गर्ने र त्यसको उचित व्यवस्थापन र परिचालनमार्फत उद्यमशील समाज बनाउन चाहिने उपयुक्त नीति, विधि र प्रविधिको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘पारिवारिक एवं सामाजिक सद्भाव विकासका लागि विभिन्न चेतनामूलक उत्प्रेरणात्मक कार्यक्रम निरन्तर सञ्चालन गरेर बलियो मनस्थितिसहित नागरिकलाई राज्यसँग जोड्ने छु’, पाठकको प्रतिबद्धता पत्रमा छ ।
प्रतिबद्धता पत्रमा एकीकरणसम्बन्धी बृहत् अभियान सञ्चालन गर्ने, प्रभावकारी रूपमा समन्वयकारी भूमिका निर्वाह गर्ने, नागरिक सेवासम्बन्धी विशेष कार्य गर्ने, बजेट वैज्ञानिक रूपमा आवश्यकता र औचित्यका आधारमा वितरण गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध र विकाससम्बन्धी कार्य गर्ने, भ्रष्टाचार निर्मूलीकरणसम्बन्धी कार्य गर्ने, कृषि, पर्यटन, जलविद्युत् उत्पादन र उद्योगको विकासमा लाग्ने, वैदेशिक रोजगारीमा रहेकाहरूका लागि भोट दिन मिल्ने व्यवस्था मिलाउने, जडीबुटी, जंगल र खनिजहरूको उपयुक्त उपयोग गर्नेलगायतका कार्यक्रम राखेका छन् । आफ्ना एजेन्डाप्रति मतदाताको समर्थन रहेको र उनीहरु परिवर्तनको पक्षमासमेत रहेकाले निर्वाचन आफ्ना लागि सहज रहेको पाठक र अधिकारी दुवैको दाबी छ ।
Comment