नेपाललाई भारतीय सेनाबाट २२ करोड रुपैयाँ बराबरको घोडा-गाडी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Flash News

नेपाललाई भारतीय सेनाबाट २२ करोड रुपैयाँ बराबरको घोडा-गाडी



काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले करिव २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री नेपाललाई हस्तान्तरण गरेका छन् । पाण्डेले सोमबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमबीच ती सैन्य सामाग्री प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेका हुन् ।

‘भारतीय स्थल सेनाध्यक्षले करिव २२ करोड रुपैयाँको सैन्य सामाग्री नेपाली सेनालाई हस्तान्तरण गर्नु भएको छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले भने । प्रवक्ता सिलवालका अनुसार भारतीय स्थल सेनाध्यक्षले सोमबार १० वटा माइन प्रोटेक्टीभ भेइकल (एमपीभी), ४ वटा घोडा, मेडिकल उपकरण र मेन्टीनेन्स स्पेयर्स पार्टस नेपाली सेनालाई हस्तान्तरण गरेका हुन् ।

उपलब्ध गरिएका करिव २२ करोडको सैन्य सामाग्रीमा ६० प्रतिशत (१३ करोड २० लाख रुपैयाँ) भारतको अनुदान सहयोगमा प्राप्त भएको हो भने ४० प्रतिशत (८ करोड ८० लाख रुपैयाँ) मूल्य नेपाल सरकारले व्यहोरोको छ ।

दुई देशबीचको सुरक्षा संयन्त्रको बैठकमा भएको निर्णय अनुसार ती सामाग्री नेपाललाई भारतले उपलब्ध गरेको हो । पाँच दिने नेपाल भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आइपुगेका हुन् ।

त्यस्तै सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानी चिह्न प्रदान गरेकी छन् । सोमबार अपराह्न राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान गरेकी हुन । साथै, राष्ट्रपति भण्डारीले पाण्डेलाई खड्ग तथा प्रमाण–पत्र प्रदान समेत प्रदान गरेकी छन् ।तस्वीर सौजन्य – भारतीय दूतावास, नेपाल

प्रकाशित : २० भाद्र २०७९, सोमबार २१:२७