समस्याग्रस्त बनेको देउराली बहुउद्देश्यीय सहकारीले सदस्यलाई बचत फिर्ता गर्ने खाका प्रस्तुत गरेको छ । सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंले सोमबार बचतकर्ताको रकम दुई भागमा विभाजन गरेर दिने प्रतिवद्धता जनाएका हुन् । उनका अनुसार ५ लाख रुपैयाँसम्म बचत गरेका सदस्यलाई नगदमा र त्यो भन्दा बढी हुनेलाई जग्गा प्रदान गरिनेछ ।
५ लाखसम्म जम्मा गरेका बचतकर्ताको रकम संस्थाका ३ वटै काउन्टरबाट क्रमशः भुक्तानी गर्दै जाने प्रतिवद्धता उनले गरेका छन् । ठूला बचतकर्ताहरुलाई भने बचत रकमको अुनपातमा घडेरी सुरक्षणको रुपमा दिलाइने र दुई वर्षभित्रमा सावाँ तथा व्याज पूर्णरुपमा फिर्ता भुक्तानी दिने जनाइएको छ । सावाँ व्याज भुक्तानपश्चात् उक्त घडेरी तपाईंहरुले संस्था वा संस्थालाई इच्छाएको व्यक्तिको नाममा फिर्ता राजीनामा पास गरि दिनुपर्ने चौलागाईंले जनाएका छन् ।
बचतकर्ताहरुको रकम जग्गामा लगानी गरिएको उनले जनाएका छन् । चितवनको भरतपुर नगरपालिका–६ मेघौलीमा ५७ विगाहा जग्गालाई १२६७ प्लटमा प्लटिङ गरेको र उक्त जग्गा ठूला बचतकर्तालाई दिने प्रक्रिया अशोज ७ गतेबाट शुरु गरिने उनले जनाए ।
देउराली बहुउद्देश्यीय सहकारी संस्था डुब्ने नै गरी कुनै समस्या नभएको दाबी गरेका छन् । बचतकर्ताहरुको रकम दुरुपयोग भएको नभइ लगानी गरेका ठाउँहरुबाट तत्काल उठ्न नसकेकाले समस्या परेको जनाए । ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय, भक्तपुर र न्यूरोड समेतमा गरि ३ वटा काउन्टर रहेको संस्थाले करिब २० हजार सदस्यबाट ३ अर्ब बचत संकलन गरेको छ ।
Comment