काठमाडौं । मधेश प्रदेशको प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ४९.९२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मधेश प्रदेशको अर्धवार्षिक आर्थिक अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो ।
समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा २०.४३ प्रतिशतले वृद्धि भई रु.१ खर्ब १२ अर्ब ३४ करोड पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो कर्जा रु.९३ अर्ब २८ करोड रहेको थियो ।
समिक्षा अवधिमा मधेश प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ०.१० प्रतिशत, तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफलमा ०.८५ प्रतिशत र फलफूल तथा मसलाले ढाकेको क्षेत्रफलमा १.७९ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी यस अबधिमा खाद्य तथा अन्य बालीको उत्पादनमा ३.०४ प्रतिशतले ह्रास आएको छ । साथै तरकारी तथा बागवानी उत्पादनमा ०.७५ प्रतिशत, फलफूल तथा मसला उत्पादनमा २.०५ प्रतिशतले वृद्धि भएको छ ।
यस प्रदेशमा पशुजन्य उत्पादन तर्फ दूध, मासु र अण्डाको उत्पादनमा क्रमशः ०.४५ प्रतिशत, ३.१४ प्रतिशत र ५.५९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी माछाको उत्पादनमा ५.४८ प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादन अन्तर्गत् काठको उत्पादनमा १८.४६ प्रतिशतले वृद्धि भएको छ भने दाउराको उत्पादनमा ३३.८१ प्रतिशतले ह्रास आएको छ ।
२०७८ पुस मसान्तमा मधेश प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा रु.५० अर्ब १ करोड कर्जा प्रवाह भएको छ जुन कुल कर्जाको ११.७८ प्रतिशत हुन आउँछ ।
त्यसैगरी, सेवा तर्फ घरजग्गा रजिष्ट्रेसन संख्यामा २४.९५ प्रतिशतले वृद्धि भएर ८९ हजार ६०६ पुगेको छ भने घर जग्गा रजिष्ट्रेशनबाट संकलित राजस्वमा १५१.२२ प्रतिशतले वृद्धि भएको छ ।
२०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशबाट परिचालन गरेको निक्षेप १३.२४ प्रतिशतले वृद्धि भई रु.२ खर्ब ४७ अर्ब ९ करोड पुगेको छ भने कर्जा प्रवाह ३७.२९ प्रतिशतले वृद्धि भई रु.४ खर्ब २४ अर्ब १४ करोड पुगेको छ ।
मधेश प्रदेशबाट परिचालित कुल निक्षेपमा पर्सा जिल्लाको हिस्सा सबैभन्दा बढी २६.८५ प्रतिशत र रौतहट जिल्लाको हिस्सा सबैभन्दा कम ६.६१ प्रतिशत रहेको छ ।
कुल कर्जा प्रवाह तर्फ पर्सा जिल्लाको अंश सबैभन्दा बढी ३७.३४ प्रतिशत र सप्तरी जिल्लाको सबैभन्दा कम ४.९७ प्रतिशत रहेको छ । यस प्रदेशमा बैंक वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात औसतमा १७१.६५ प्रतिशत रहेको छ ।
Comment