ब्रोकर लाइसेन्समा काेटा प्रणाली खारेज, ठुला ब्रोकरको चुक्ता पूँजी एक अर्ब ५० करोडसम्म « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ब्रोकर लाइसेन्समा काेटा प्रणाली खारेज, ठुला ब्रोकरको चुक्ता पूँजी एक अर्ब ५० करोडसम्म



काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन प्रकारका ब्रोकर लाइसेन्स वितरण गर्ने प्रस्ताव गरेको छ। धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ को संशोधन मस्यौदा स्वीकृत गर्दै सेबोनले तीन प्रकारका ब्रोकर लाइसेन्स वितरण गर्ने प्रस्ताव गरेको हो।

सेबोनले सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा र धितोपत्र व्यापारी गरी तीन प्रकारमा ब्रोकर लाइन्सेन्स वितरण प्रस्ताव गरेको छ। सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि न्यूनतम २० करोड रुपैयाँ चुक्तापुँजी निर्धारण गरिएको छ। यस प्रकारका ब्रोकरले सम्बन्धित ग्राहकको नामबाट मात्र ग्राहकको आदेशअनुसार धितोपत्र खरिद वा बिक्री गर्न पाउनेछन्।

त्यस्तै पूर्ण कार्य गर्ने ब्रोकरको हकमा चुक्तापुँजी ६० करोड हुनुपर्ने प्रस्ताव गरिएको छ। यी ब्रोकरलाई खरिद–बिक्रीसहित मार्जिन कारोबार, लगानी परामर्श, लगानी व्यवस्थापन र निक्षेप सदस्यसम्बन्धी कार्य गर्ने सहुलियत पनि हुनेछ।

यसैगरी धितोपत्र व्यापारी लाइसेन्सका लागि १ अर्ब ५० करोड रुपैयाँ पुँजी प्रस्ताव गरिएको छ। यी धितोपत्र व्यापारीले धितोपत्र दलालको कार्यसहित आफ्नो नामबाट सेयर किनबेच पनि गर्न पाउनेछन्।

यसअघिको व्यवस्थाअनुसार ब्रोकरको न्यूनतम चुक्तापुँजीको २ करोड रुपैयाँ तोकिएको थियो। ब्रोकर लाइसेन्सको प्रकारअनुसार सेबोनले लाग्ने शुल्क पनि छुट्टाछुट्टै कायम गर्ने प्रस्ताव गरेको छ। ब्रोकर लाइसेन्सका लागि नै आवेदकले न्यूनतम २५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ। प्रस्तावित नयाँ व्यवस्थाअनुसार धितोपत्र व्यापरी लाइसेन्सको दस्तुर सबैभन्दा महँगो १ करोड रुपैयाँ हुनेछ।

लाइसेन्स निवेदनको दस्तुर २ लाख रुपैयाँ पर्न जानेछ। धितोपत्र व्यापरी लाइसेन्सको हरेक वर्ष नवीकरण शुल्क लाग्नेछ। वार्षिक ५ लाख रुपैयाँ नवीकरण शुल्क धितोपत्र व्यापरी लाइसेन्सबापत लाग्ने प्रस्ताव सेबोनले गरेको छ।

सेबोनले पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्सको शुल्क ५० लाख रुपैयाँ र धितोपत्र दलाल सेवाका लागि २५ लाख रुपैयाँ शुल्क तोकेको छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल लाइसेन्सको निवेदन दस्तुर भने १ लाख रुपैयाँ र सामान्य धितोपत्र दलाल सेवाको ५० हजार रुपैयाँ तोकिएको छ। नवीकरणका लागि पूर्ण कार्य गर्ने ब्रोकरको हकमा वार्षिक ३ लाख रुपैयाँ शुल्क र सामान्य धितोपत्र दलाल सेवाका हकमा १ लाख ५० हजार रुपैयाँ तोक्ने प्रस्ताव सेबोनले गरेको छ।

प्रकाशित : २२ असार २०७९, बुधबार ११:५१