लघुवित्त वित्तीय संस्थाको निष्कृय कर्जा ८७.८३ प्रतिशतले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लघुवित्त वित्तीय संस्थाको निष्कृय कर्जा ८७.८३ प्रतिशतले बृद्धि



काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा लघुवित्त वित्तीय संस्थाको निष्कृय कर्जा ८७.८३ प्रतिशतले बढेको छ । विश्वभरी फैलिएको कोरोनाका कारण प्रभावित आर्थिक गतिविधीका कारण लघुवित्त वित्तीय संस्थाहरुको निष्कृय कर्जा बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा लघुवित्त वित्तीय संस्थाहरुको औसत निष्कृय कर्जा ९ अर्ब ९५ करोड अर्थात कुल कर्जा सापटको २.७२ प्रतिशत रहेको छ । २०७७ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको निष्कृय कर्जा ५ अर्ब ३० करोड अर्थात २.०२ प्रतिशत रहेको थियो । २०७८ असारमा लघुवित्त वित्तीय संस्थाहरुले कुल कर्जा नोक्सानी व्यवस्था वापत १० अर्ब ७९ करोड १८ लाख ३५ हजार रुपैयाँ कायम गरेको देखिन्छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा लघुवित्त वित्तीय संस्थाहरुको कर्जा लगानी ३९।१४ प्रतिशतले वृद्धि हुँदा निष्कृय कर्जा ८७.८३ प्रतिशतले वृद्धि भएको देखिन्छ राष्ट्र बैंकले जनाएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा ब्याज खर्चमा १५.६४ प्रतिशतले कमी आएको र ब्याज आम्दानीमा ११.०५ प्रतिशतले वृद्धि भई सञ्चालन आम्दानीमा ७७.४१ प्रतिशतले वृद्धि हुनुका साथै खुद नाफामा १४६.७१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष ५ प्रतिशत भन्दा धेरै निष्कृय कर्जा हुने संस्थाहरुको संख्या ११ रहेको छ । सो अवधिमा सबैभन्दा धेरै निष्कृय कर्जा हुनेमा बुद्ध ज्योति लघुवित्त वित्तीय संस्था रहेको छ । गत आवमा संस्थाको निष्कृय कर्जा ८.८१ प्रतिशत रहेको छ ।

२०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल लगानी २०७७ असार मसान्तको तुलनामा ६१।३६ प्रतिशतले वृद्धि भई १४ अर्व ४२ करोड पुगेको छ । २०७८ असार मसान्तमा सरकारी सुरक्षणमा ५८ करोड, सेयर तथा डिवेन्चरमा ११ करोड, मुद्दती निक्षेपमा १२ अर्ब ६७ करोड, सूचिकृत नभएको सेयरमा ४० करोड र अन्य लगानीमा ६७ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकको सुपरिवेक्षणमा देखिएको छ ।

लघुवित्त वित्तीय संस्थाहरुको कर्जा र निक्षेप तथा सापटी अनुपात २०७८ असार मसान्तमा १०८.२८ प्रतिशत रहेको छ । २०७७ असार मसान्तमा सो अनुपात १०५.८० प्रतिशत रहेको थियो । २०७८ असार मसान्तमा लिएको कुल निक्षेप तथा सापटी २०७७ असार मसान्तको तुलनामा ३५.९७ प्रतिशतले वृद्धि भई ३ खर्ब ३७ अर्ब ६२ करोड पुगेको केन्द्रीय बै।कले जनाएको छ । त्यस्तै, कर्जा तथा सापट गत वर्षको तुलनामा ३९.१४ प्रतिशतले वृद्धि भई २०७८ असारमसान्तमा ३ खर्ब ६५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

२०७८ असार मसान्तमा कायम रहेका कुल ७० लघुवित्त वित्तीय संस्थाहरु मध्ये ६७ लघुवित्त वित्तीय संस्थाहरुको गैरस्थलगत सुपरिवेक्षण गरी आवश्यक थप निर्देशन सहित वार्षिक वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा संस्थाको जोखिम भारित सम्पत्तिमा ३८.३१ प्रतिशत, लगानीमा ६१.३६ प्रतिशत र कुल निक्षेप तथा सापटीमा ३५.९७ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

२०७७ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल चुक्ता पुँजीे २१ अर्ब ६८ करोड रहेकोमा २०७८ असार मसान्तमा १४.८५ प्रतिशतले वृद्धि भई २४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, लघुवित्त वित्तीय संस्थाहरुको कुल पुँजीकोष २०७७ असार मसान्तमा ३७ अर्ब ३५ करोड रहेकोमा २०७८ असार मसान्तमा २८.२७ प्रतिशतले वृद्धि भई ४७ अर्ब ९१ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

साथै, प्राथमिक पुँजी २०७७ असार मसान्तमा ३३ अर्ब ७५ करोड रहेकोमा २०७८ असार मसान्तमा ३०.४३ प्रतिशतले वृद्धि भई ४४ अर्ब २ करोड पुगेको छ । २०७८ असार मसान्तमा जोखिम भारित सम्पत्तिको आधारमा प्राथमिक पुँजी अनुपात ११.२० प्रतिशत रहेको छ भने पुँजीकोष अनुपात १२.१९ प्रतिशत रहेको छ ।

२०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्ति २०७७ असार मसान्तको तुलनामा ३८.३१ प्रतिशतले वृद्धि भई ३ खर्ब ९२ अर्ब ८८ करोड हुन आएको छ । २०७७ असार मसान्तमा जोखिम भारित सम्पत्ति अघिल्लो आर्थिक वर्षको तुलनामा १५.०७ प्रतिशतले वृद्धि भई २ खर्ब ८४ अर्ब ५ करोड रहेको थियो ।

२०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षकोतुलनामा १४६.७१ प्रतिशतले वृद्धि भई ११ अर्ब ८७ करोड रुपैयाँ छ । २०७८ असार मसान्तमा ब्याज आम्दानी ४५ अर्ब २४ करोड, ब्याज खर्च १८ अर्ब १५ करोड र संचालन आम्दानी ४१ अर्ब ५८ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षमा कुल ७० वटा संस्थाहरुमध्ये ६८ वटा नाफामा र २ वटा मात्र खुद नोक्सानमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित : २१ असार २०७९, मंगलवार १४:४०