काठमाडौं, २४ मंसिर । सरकारले ‘सबै नेपालीको बैंक खाता’ हुनुपर्ने गरी काम गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ । चालू आर्थिक वर्षको बजेटमा ल्याइएको यो कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनका निमित्त वित्तीय पहुँच विस्तारलाई केन्द्रविन्दुमा राखेर काम गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले वित्तीय क्षेत्रका नियामक निकाय तथा सरकारी संस्थानका प्रमुखहरूलाई मुलुक समृद्ध बनाउन वित्तीय क्षेत्रको अहं भूमिका रहने भन्दै हरेक क्षेत्रमा वित्तीय संस्थाको पहुँच हुनुपर्नेमा जोड दिएका हुन् ।
अर्थमन्त्री महराले ‘समृद्ध गाउँ समृद्ध नेपाल’को अवधारणा प्रस्तुत गर्दै आफ्नो कार्ययोजना कार्यान्वयनका लागि दृढतापूर्वक अघि बढ्न सम्बन्धित क्षेत्रलाई बिहीबार निर्देशन दिएका हुन् ।
वित्तीय संस्थाको पहुँचबिना सबै नेपालीको बैंक खाता नहुने भन्दै उनले राष्ट्र बैंकले विशेष ध्यान दिएर यस क्षेत्रमा काम गर्न आग्रह गरेका छन् । आफ्ना कार्यक्रमलाई छिटो र छरितोसँग जनस्तरसम्म पु¥याउन र त्यसबाट हरेक नेपालीले फाइदा लिएको अनुभूत हुने गरी काम गर्न अर्थमन्त्री महराले निर्देशन दिएका हुन् ।
उनले यसैसाता अर्थ मन्त्रालय मातहतका निकायलाई विकासलाई प्रमुख एजेन्डा बनाएर काम गर्न निर्देशन दिएका थिए ।
अर्थ मन्त्रालयले नियामक निकायहरू नेपाल राष्ट्र बैंक, बिमा समिति, नेपाल धितोपत्र बोर्डसहित सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी र अर्थअन्तर्गतका संस्थानका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरूलाई विकास निर्माणमा सहयोग गर्न आफ्नो योजनाअनुरूप काम गर्न निर्देशन दिएको जनाएको खबर आजको कारोबार दैनिकले छापेको छ ।





Comment