अर्थतन्त्र बाह्य दबाबमा छ, आयात बन्देजको सल्लाह राष्ट्र बैंककोः गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अर्थतन्त्र बाह्य दबाबमा छ, आयात बन्देजको सल्लाह राष्ट्र बैंककोः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा रहेको बताएका छन् । बुधबार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवमा कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्रमा केही दबाब रहेको बताए ।

उनले राष्ट्र बैंकले बाह्य दबाब कम गरी विदेशी विनिमय सञ्चितिको समेत दबाब कम गर्न नीतिगत पहल भइरहेको बताए । गभर्नर अधिकारीले पछिल्लो समय कोभिडको असर कम भएसँगै अर्थतन्त्रमा समेत सुधार हुँदै गएको बताए । उनका अनुसार कोभिडको असर कम भएलगत्तै आर्थिक गतिविधिमा सुधार आएको र उद्योगको क्षमता उपयोग तथा होटलको अकुपेन्सी लगायतमा पनि सुधार आएको बताएका छन् ।


उनले अर्थतन्त्र पुनरूत्थानको क्रममा बैंक तथा वित्तीय संस्थाबाट आर्थिक वर्ष २०७८/७९ को सुरूआती महिनामा अधिक कर्जा प्रवाह भएको र उक्त कर्जाको अधिकांश अंश आयात भुक्तानीमा गएका कारण आर्थिक वर्ष २०७८/७९ को सुरूदेखि नै शोधनान्तर स्थिति घाटामा रहेको अधिकारीले बताए। उक्त घाटा क्रमशः बढ्दै गएकोले विदेशी विनिमय सञ्चिति घट्न गएको उनको भनाइ छ। गभर्नर अधिकारीले कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेनबीचको युद्धका कारण महंगी बढ्न सक्ने बताए ।

चालू आर्थिक वर्षको शुरुदेखि नै विदेशी विनिमय सञ्चिति घटेको भन्दै विदेशी लगानी र विदेशी मुद्रा आर्जन सहज बनाउन नीतिगत व्यवस्था गरेको बताए । राष्ट्र बैंकको सल्लाहमा नै सरकारले विभिन्न वस्तुको आयातमा रोक लगाएको बताए । आयातमा लगाएको रोक राष्ट्र बैंकको पनि सल्लाह रहेको बताएका हुन् । उनले सरकारको नीति कार्यान्वयन गर्न आग्रह गरे ।

उनले डिजिटल करेन्सीतर्फ जाने उद्देश्यले सेन्ट्रल बैंक डिजिटल करेन्सी सम्बन्धी अध्ययन गरिरहेको र
सम्पत्ति शुद्धिकरण सम्बन्धमा वित्तीय जानकारी एकाइमा आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्म एक हजार ५५६ वटा शंकास्पद कारोबार गतिविधि प्रतिवेदन प्राप्त भएको उल्लेख गरेका छन् ।

उनले ४४६ वटा प्रतिवेदन विश्लेषण भएको र २६५ वटा अभिलेखीकरण गरिएको जनाएका छन् । तीमध्ये ११९ वटा प्रतिवेदनहरु ल इन्फोर्समेन्ट एजेन्सीहरुमा अनुसन्धानका लागि पठाइएको बताएका छन्।

प्रकाशित : १४ बैशाख २०७९, बुधबार २०:२८