एनआईसी एशिया बैंकले ९ महिनामा ३ अर्ब ६० करोड नाफा कमायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंकले ९ महिनामा ३ अर्ब ६० करोड नाफा कमायो



काठमाडाैं । एनआईसी एशिया बंैक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका तेश्रो त्रैमाससम्मको समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।

एनआईसी एशिया बैंक समीक्षा अवधिसम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७४.७४ अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०२.८१ अर्ब पुर्याएको छ । बैंकले यस त्रैमासमा खुद मुनाफातर्फ रू. ३.६० अर्ब आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो ।

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल(आरओई) २१.४६ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४१.९४ आर्जन गर्न सफल भएको छ, २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई तेस्रो त्रैमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्ने अर्को महत्वपूर्ण सफलता पाएको छ ।

बैंकले आ.व. २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ९ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३७ लाख भन्दा बढी खाताहरूमार्फत ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

समीक्षा अवधिसम्मा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७८/७९ को दोस्रो त्रैमासमा कर्जा विस्तार, निक्षेप संकलन, प्रति शेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, ग्राहक संख्या, शाखा संख्या, विस्तारित काउन्टर संख्या, एटिएम संख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता र सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था अघिको)मा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (ग्राहक संख्यामा निजी बैंकहरुमा पहिलो) ओगट्न सफल भएको थियो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार ०८:१९